काठमाडौं । नेपाली बजारमा करिब ५० भन्दा बढी विद्युतीय कार (ईभी) मोडल बिक्री हुँदै आएका छन् । मूल्यका हिसाबले १५ लाखदेखि ४ करोड रुपैयाँसम्म पर्ने विद्युतीय कारहरू नेपालमा बिक्री हुन्छन् ।
पोर्श्चे, बीएमडब्लू, अउडी, टेस्ला जस्ता ब्राण्डले उत्पादन गरेका प्रिमियम इलेक्ट्रीक कार हाम्रो बजारमा किन्न पाइन्छ । तर, यी ब्राण्डका विद्युतीय कारको लागि १ करोड रुपैयाँभन्दा माथि नै तिर्नुपर्छ ।
१ करोडभन्दा कम मूल्यमा पनि उत्कृष्ट फिचर भएका विद्युतीय कारहरू किन्न पाइन्छ । मूल्यका हिसाबले ८० लाखदेखि १ करोड ५० लाख रुपैयाँसम्म पर्ने ईभीहरू पनि थुप्रै पाइन्छन् । जसमा हुन्डाई, किया, जीकर, एक्सपेङ, अवतार स्काइवेल, स्मार्ट जस्ता ब्राण्डका उत्पादन छन् ।
माथि उल्लेख भएका कार ब्राण्ड मध्येबाट तीन उत्कृष्ट मोडलका विषयमा हामीले यहाँ चर्चा गर्न लागेका हौं । यदि, तपाईं पनि कम मूल्यमा प्रिमियम फिचर भएको लग्जरी कार खोज्दै हुनुहुन्छ भने यी तीन मध्ये कुनै एक मोडल उपयुक्त हुन सक्छ ।
हुन्डाई आयोनिक-५
हुन्डाईको ग्लोबल मोडल आयोनिक-५ उत्कृष्ट क्रसओभर हो । हरेक कोणबाट विश्व बजारमा आफूलाई स्थापित गरिसकेको आयोनिक-५ नेपालमा पनि सुरूमा निकै खोसाखोस भएको मोडल हो ।
सरकारले लगाएको करको मारमा परेको आयोनिक-५ अहिले ठिकठाक मूल्यमा किन्न पाइन्छ । सुरूमा ८२ लाख रुपैयाँबाट बिक्री सुरू भएको आयोनिक-५को मूल्य १ करोड १७ लाखसम्म पुगेको थियो । अहिले फेरि यसको मूल्य ९२ लाख ९६ हजार रुपैयाँमा झरेको छ । यसमा ५८ किलोवाट आवरको एनसीएम ब्याट्री पाउन सकिन्छ । साथै, मोटर भने १०० किलोवाट क्षमताको छ ।
भविष्य केन्द्रीत डिजाइनको लागि परिचित आयोनिक-फाइभको रोड प्रेजेन्स किनै आकर्षक देखिन्छ । हिडन डोर ह्याण्डल, बाक्लो बडी क्लाडिङ, क्लासिकल फ्रन्ट ग्रिल, पृथक एलईडी हेडल्याम्प र युनिक ह्वील डिजाइनको कारण यसको फरकपन सडकमा देखिन्छ ।
‘पावर टु वेट रेसियो’मा अब्बल आयोनिक-फाइभको पर्फमेन्सले धेरैलाई सन्तुष्ट बनाएको पाइन्छ । यसले शून्यदेखि १०० किलोमिटरको स्पीड भेटाउन ८.५ सेकेण्ड लगाउँछ । यसको टप स्पीड क्षमता १८५ किलोमिटर प्रतिघण्टा छ । रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध भएको कारण यसको पर्फमेन्स निकै राम्रो छ ।
हुन्डाईले यसको उत्पादन वातावरणमैत्री बनाएको दाबी गर्छ । रिसाइकल प्लाष्टिकदेखि खेरजाने थुप्रै वस्तुको पुनः प्रयोग गरिएको छ । भेगन लेदर सिट, रिसाइकल वस्तुबाट बनाइएको ड्यासबोर्ड, मोर्डन स्टेरिङ ह्वील, आफ्नो सहजता अनुसार मिलाउन मिल्ने सेन्टर कन्सोल र आर्मरेष्ट जस्ता फिचर उत्कृष्ट छन् ।
एक्सपेङ जी-सिक्स
नेपाली बजारमा सीजी मोटर्सले बिक्री वितरण गर्दै आएको एक्सपेङ चिनियाँ स्टार्टअप कम्पनी हो । यसको जी-सिक्स मोडल नेपाली बजारमा उपलब्ध छ । उत्कृष्ट क्रसओभर मोडलको रूपमा उपलब्ध जी-सिक्सको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा टेस्लाको मोडल बाईसँग प्रतिस्पर्धा गर्ने एक्सपेङको जी-सिक्समा ६६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । ‘एसइपीए २.० इलेक्ट्रीक प्लेटफर्म’मा बनेको जी-सिक्स ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनेको हो । यसले ४८० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।
यसमा रहेको एक्सएनजीपी इन्टेलिजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ वटा फरक सेन्सर, लाइडार, मिलिमिटर वेभ रडार, अल्ट्रासोनिक सेन्सर, क्यामरा, ड्युल ओरिन एक्स माइक्रोचीपको प्रयोग गरिएको छ ।
ट्विन स्पोक ओभल सेपको स्टेरिङ ह्वील, १०.२ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर र १५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले एक्सपेङ एक्समार्ट ४.० अपरेटिङ सिस्टम र हिटपम्प बेस्डको एयर कन्डिसन सिस्टम छन् । यसमा १९० किलोवाट क्षमताको मोटर उपलब्ध छ ।
जीकर एक्स
चिनियाँ अटोमोबाइल जाइन्ट जिली ग्रुपको न्यू इनर्जी ब्राण्ड जीकरको एक्स मोडल नेपाली बजारमा उपलब्ध छ । जीकरको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प हो । कम्पनीले बिक्री गर्दै आएको जीकर एक्सको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
जीकर एक्स फिचर लोडेड कार हो । साथै, यसको रियर ह्वील ड्राइभमा २०० किलोवाटको इलेक्ट्रीक मोटर छ । पावर फुल मोटरको कारण यसलाई पर्फमेन्स कार पनि भनिन्छ । आयोनिक-फाइभ र जी-सिक्सको तुलनामा केही सानो क्रसओभर एसयूभी उत्कृष्ट छ ।
जीकर एक्समा ६६ किलोवाट आवर लिथियम आयोन ब्याट्री दिएको छ । यसले ४४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसको एक्सटेरियरमा प्रयोग भएको एजहरूले लुक्सलाई मोर्डन र फ्यूचरिस्टिक बनाएको छ । साथै, डलब एज डे टाइम रनिङ लाइट, यूनिक र मोर्डन टेल सेक्सनले धेरैलाई आकर्षित छ ।
निकै स्मार्ट हेडरेष्ट, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्ट इन्स्ट्रुमेन्ट क्लष्टर उपलब्ध कारमा दुई कलरमा सजिएको ड्यासबोर्ड पाउन सकिन्छ । इन्टेलिजेन्ट ककपिट दिइएको कारमा युनिक एम्बियन्ट लाइट पाउन सकिन्छ ।