देशभर चार लेनमा विस्तार हुँदै ८५० किमी सडक, कहाँ कति बने ?

काठमाडौं । हामी विदेशका चिल्ला र फराकिला सडक देख्दा लोभिन्छौं । लाग्छ नेपालमा पनि त्यस्तै सडक बनिदिए हुन्थ्यो । सहज, छिटो र कम लागतमा यात्रा गर्न पाइयोस् ।

नेपालमा सडकै नभएको होइन । देशभर सडक सञ्जाल (संघीय, प्रदेश र स्थानीय स्तर) १ लाख किलोमिटर (किमी) नाघेको छ । देशका ७७ मध्ये ७६ जिल्ला (हुम्ला बाहेक) सबै जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । संघीयतापछि सडक निर्माणले झनै तीव्रता पाएको छ । पहाडी र हिमाल जिल्लाका समेत गाउँगाउँमा सडक पुगेको छ । तर, ती सडक गुणस्तरीय, भरपर्दो र व्यवस्थित छैनन् ।

गुणस्तरीय र फराकिला सडक निर्माण आजको अपरिहार्य आवश्यकता हो । यसले सहज र छिटो यात्रा गराउनुका साथै ढुवानी लागत घटाई समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्दछ ।

पछिल्लो समय नेपालमा पनि फराकिला सडक बनाउने अभियान नै चलेको छ । सरकारले प्रमुख राष्ट्रिय राजमार्ग चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । रणानीतिक महत्वका नयाँ बन्ने सडक पनि ४ लेनमा निर्माण हुँदै छन् ।

हाल देशभरका  ८५० किलोमिटर बढी सडक ४ लेनको बनाइँदै छ । सडक विभागमा अनुसार महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग लगायत विभिन्न सडकखण्ड ४ लेनमा विस्तार भइरहेका छन् । निर्माणाधीन अवस्थामा रहेको सबै सडक गरी करिब १५० किलोमिटर चार लेनमा कालोपत्र भइसकेको छ । बाँकी खण्डमा पनि धमाधम काम हुँदैछ । त्यस्तै, निर्माणका क्रममा रहेका बाहेक करिब १५० किमी सडक यसअघि नै ४ देखि ८ लेनमा विस्तार भइसकेका छन् ।

हाल विस्तारको क्रममा रहेका सडक आयोजनाको कुल लागत करिब ४ खर्ब रुपैयाँ रहेको छ । चार लेनमा विस्तार भइरहेका अधिकांश सडक एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग र केही नेपाल सरकारकै लगानीमा बन्न लागेका हुन् ।

लक्ष्य अनुसार काम सम्पन्न भएमा आगामी ३ वर्षभित्र नेपालमा १ किलोमिटर बढी सडक चार लेनको भइसक्ने छ । यद्यपि, स्तरोन्नतिका क्रममा रहेका अधिकांश सडकको प्रगति भने निकै सुस्त रहेकाले तोकिएकै समयमा सम्पन्न हुनेमा शंका छ ।

सडक विभागका इन्जिनीयर सागर पन्थीका अनुसार चालु आर्थिक वर्षको ९ महिना (चैतसम्म)मा मात्रै ५६ किलोमिटर ४ लेनको सकड कालोपत्र भएको छ । त्यस्तै, ४ लेनभन्दा ठूलो ७ किलोमिटर सडक कालोपत्र भएको उनले जानकारी दिए ।

कुन-कुन सडक बन्दैछन् चार लेनको ?

महेन्द्र राजमार्ग : सरकारले देशकै लाइफ लाइन महेन्द्र राजमार्गलाई ४ लेनमा स्तरोन्नति गर्दैछ । पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म पुग्ने १०२४ किलोमिटर लामो यो सडक एशियाली मापदण्डको बनाइँदै छ ।

अहिले ४२१ किलोमिटर खण्ड अहिले धमाधम ४ लेनको बनाउन लागिएको छ । काँडकभिट्टा-लौकही, कञ्चनपुर-कमला, कमला-ढल्केबर-बागमती, नारायणगढ-बुटवल र बुटवल-गोरुसिंगे ५ खण्डको ठेक्का लगाई काम भइरहेको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तगर्त नै ११४ किलोमिटर नारायणघाट-बुटवल सडक पनि ४ लेनमा विस्तार भइरहेका छ । पूर्वीखण्ड (नारायणगढ-दाउन्ने) पूर्वीखण्डको ६५ किलोमिटर सडकमध्ये हालसम्म ४७ किलोमिटर कालोपत्र भएको छ । साथै, २२ वटा साना पुल समेत निर्माण भइसकेका छन् । यस खण्डको भौतिक प्रगति ६० प्रतिशत पुगेका छ ।

त्यस्तै, पश्चिम खण्ड (दाउन्ने-बुटवल) ४९ किलोमिटरको पनि आधा बढी काम सकिएको छ । पचिम खण्डका आयोजना प्रमुख (सीडीई) शशांक मिश्रले भौतिक प्रगति ६३.२७ प्रतिशत पुगेको मेरो अटोलाई जानकारी दिए । उनका अनुसार हालसम्म ४५ किलोमिटर खण्डमा कालोपत्र भएको छ । दाउन्ने खण्डमा भित्तो कटानको काम ६० प्रतिशत सकिएको उनले बताए ।

दुवै खण्ड विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । आयोजनको कुल अनुमानित लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

२०७५ माघमा ४२ महिना भित्र काम सक्ने गरी सुरू गरिएको नारायणघाट-बुटवल सडक २०७९ साउन २२ भित्र सक्नुपर्थ्यो । तर, ३ पटक म्याद थप्दा पनि अझै एकतिहाई बढी काम बाँकी छ ।

कञ्चनपुर-कमला सडक : सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६.८३ किलोमिटर सडक सहरी क्षेत्रमा ६ लेन र अन्यन्त्र ४ लेनको निर्माण भइरहेको छ । यो सडकको म्याद दुईपटक म्याद थप्दा समग्रमा ५७ प्रतिशत मात्र काम पूरा भएको छ ।

३९.४२ किमी पूर्वीखण्ड (कञ्चनपुर-कुशहवा)को भौतिक प्रगति ५४ प्रतिशत पुगेको कञ्चनपुर-कमला सडक योजना (पूर्वीखण्ड)का सूचना अधिकारी ई. राजिवकुमार झाले जानकारी दिए । उनका अनुसार हालसम्म २० किमी एकतर्फी कालोपत्र सम्पन्न भएको छ । त्यस्तै, २९ वटै पुलको फाउन्डेसन र सबस्ट्रक्चर निर्माण भइसकेको छ भने १६ पुलको सुपर स्ट्रक्चर तयार भएको उनले बताए । निर्माया सामग्री अभाव नभए र स्थानीयले अवरोध नगरे आगामी पुसभित्रै काम सकिने उनको भनाइ छ ।

त्यस्तै, ४७ किमी लामो पश्चिमखण्ड (बलान-कमला)को भौतिक प्रगति ६०.३ प्रतिशत पुगेको आयोजना -पश्चिमखण्ड)का सूचना अधिकारी सरोजकुमार कोइरालाले जानकारी दिए । उनका अनुसार एकतर्फी ५५ किमी कालोपत्र सम्पन्न भइसकेको छ । दुवै खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना रेलवे-२ इन्जिनियरिङ ग्रुपले १५ अर्ब ६६ करोड ४४ हजार ९८३ रुपैयाँमा पाएको छ ।

कमला-ढल्केबर-पथलैया : सडक पनि ४ लेनको बनाइँदै छ । पहिलो चरणमा कमलादेखि बागमती पुलसम्मको ७४ किमी सडक ३ खण्ड (कमलापुल-बडहरी, बडहरी-फुलजार र फुलजार-बागमती पुल)मा ठेक्का लगाइएको छ । यसको कुल लागत १८ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ छ ।

हाल यस सडकमा पुल, कल्भर्ट निर्माण माटो भर्ने लगायत काम भइरहेको कमला-ढल्केबर-पथलैया सडक योजना प्रमुख (सीडीई) छविलाल पौडेलले बताए । यस खण्डमा ३४ वटा पुल र १०० वटा कल्भर्ट निर्माण गरिने छ । हालसम्म भौतिक प्रगति ३.५ प्रतिशत पुगेको पौडेलले जानकारी दिए ।

एसियाली राजमार्ग अन्तर्गत काँकडभिट्टा-लौकही सडक ४ लेनमा विस्तार भइरहेको छ । यसखण्डको ९६ किमी सडकलाई दुई खण्डमा ठेक्का लगाइएको छ ।

पूर्वीखण्ड (काँकरभिट्टा-सीतापुरी) ४५ किलोमिटर विस्तारको ठेक्का एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको छ । यस खण्डको भौतिक प्रगति १५ प्रतिशत पुगेको काँकडभिट्टा-लौकही सडक योजना (पूर्वी खण्ड) योजना प्रमुख (सीडीई) सुनिलबाबु पन्तले जानकारी दिए ।

हाल कल्भर्ट, पुल निर्माण र माटो भर्ने काम भइरहेको उनले बताए । हालसम्म १४३ वटा कल्भर्टमध्ये ९३ वटा, साना पुल १८ मध्ये १७ वटाको निर्माण भइरहेको छ । चालु आर्थिक वर्षमै कम्तीमा १० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य छ ।

त्यस्तै, पश्चिमखण्ड (सीतापुरी-मावा खोला)को भौतिक प्रगति १९ प्रतिशत पुगेको योजना (पश्चिम खण्ड)का सूचना अधिकारी पल्लव श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल यसखण्डमा सबबेस राख्ने, फिलिङ गर्ने कल्भर्ट र पुल निर्माणका काम भइरहेका छन् । ३१ वटै पुलको सबस्ट्रक्चर निर्माण भइसकेको उनले बताए । असारसम्म १० किमी कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए । कुल ३४ अर्ब ९० करोड रुपैयाँ लागतमा विस्तार भइरहेको यो सडकको ठेक्का अवधि २०८३ माघ १९ गतेसम्म छ ।

बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक : ६९ किलोमिटर लामो यो सडकखण्ड पनि ४ लेनको बनाइँदै छ । पहिलो चरणमा ५० बुटवल-गोरुसिंगे सडक विस्तार थालिएको छ । गत माघ ११ गते शिलान्याश गरिएको यस सडकमा अहिले कलभर्ट, पुल निर्माण, वाल लगाउने, माटो भर्ने लगायत काम भइरहेको योजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार यसखण्डमा ३० वटा पुल, ६ वटा भेहिकल अण्डरपास, १२ वटा पैदलयात्रु अण्डरपास, ११ वटा आकाशे पुल र १९ वटा वन्यजन्तुका लागि क्रसिङ निर्माण गरिने छ । हालसम्म भौतिक प्रगति ४ प्रतिशत पुगेको उनले जानकारी दिए । यो सडकको ठेक्का चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले कुल १३ अर्ब ४९ करोड रुपैयाँमा पाएको छ । ३ वर्षभित्र काम सक्ने लक्ष्य छ । १९ किमी लामो गोरुसिंगे-चन्द्रौटा खण्डको भने ठेक्का लाग्न बाँकी छ ।

काठमाडौं-तराई/मधेश द्रुतमार्ग : संघीय राजधानी काठमाडौंलाई तराईसँग जोड्ने सबैभन्दा छोटो सडकको रूपमा ४ लेनको फास्ट ट्रयाक निर्माण भइरहेको छ । यो सडक पहाडी भू-भागमा २५ मिटर र तराई भू-भागमा २७ मिटर फराकिलो हुनेछ ।

ललितपुरको खोकनाबाट बाराको निजगढसम्म पुग्ने यस सडकको लम्बाइ ७०.९७७ किलोमिटर छ । जसमा ललितपुरमा ९, काठमाडौँमा ४.६, मकवानपुर ४९.७७ र बारामा ७.६ किमी सडक रहने छ ।

नेपाली सेनाले निमार्ण गरिरहेकाे काठमाडौँ तराई फास्ट ट्रयाक ।

फास्ट ट्रयाकलाई विभिन्न ११ प्याकेजमा विभाजन गरी काम भइरहेको छ । खोकना खण्डको बाहेक अरू सबै खण्डको ठेक्का लागि अहिले धमाधम काम भइरहेको छ ।

द्रुतमार्गमा १०.९७९ किमी लम्बाइका ६ वटा सुरुङ रहने छ । हालसम्म लेनडाँडाको १६१२ मिटर र धेद्रेको १७२८ मिटरको सुरुङ ब्रेक थ्रु भइसकेको छ । त्यस्तै, ३३५५ मिटर लामो महादेवटार सुरुङको ७० प्रतिशत बढी काम सकिएको छ । त्यस्तै, २ हजार २५० मिटरको चन्द्राम भीर, १ हजार मिटरको देवीचौर र ३९० मिटर दूरीको सिसौटार सुरुङ डिजाइनको क्रममा छन् ।

त्यस्तै, फास्ट ट्रयाकमा कुल १२.८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । तीमध्ये ८५ पुलको ठेक्का लागिसकेको छ । ८१ मिटरसम्म अग्ला पुल बन्दै छन् ।

निर्माण थालिएको ७ वर्षमा फास्ट ट्रयाकको भौतिक प्रगति साढे ३८ प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशत पुगेको पुगेको नेपाली सेनाले जनाएको छ । हालसम्म साढे ७२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आयोजनाको संशोधित लागत बढेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । यो सडक २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ ।

सूर्यविनायक धुलिखेल सडक : अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल १६ किमी सडकलाई दुई लेनबाट ६ लेनमा स्तरोन्नति गर्ने काम भइरहेको छ । दुई खण्डमा ठेक्का लगाइएको यस सडकको समग्रमा भौतिक प्रगति ४४ प्रतिशत पुगेको आयोजनाकी सूचना अधिकारी (सीडीई) सजना अधिकारीले जानकारी दिइन् ।

निर्माणाधीन सूर्यविनायक-धुलिखेल सडकको साँगाखण्ड ।

उनका अनुसार ८.४ किमी लामो साँगा-धुलिखेल खण्डको ४५ प्रतिशत काम सम्पन्न भएको छ । यसखण्डको बाँसधारी-धुलिखेल १ किमी कालोपत्र भइरहेको छ भने असारसम्म ३ किमी कालोपत्र गर्ने लक्ष्य राखिएको उनले बताइन् । यो खण्ड निर्माणको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा पाएको छ ।

त्यस्तै, सूर्यविनायक-साँगा खण्डको पनि ४३ प्रतिशत काम सकिएको उनले बताइन् । यसखण्डमा वाल लगाउने, नाला बनाउने, कल्भर्ट राख्ने, बेस राख्ने लगायत काम भइरहेको उनले बताइन् । यो खण्डको ठेक्का आशिषकुमार श्रेष्ठ वन्दना भगवती जेभीले ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा पाएको छ ।

२०७९ पुस २४ बाट सुरू गरिएको यो सडक ३६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, हालसम्मको अवस्था हेर्दा समयमै सम्पन्न हुन सक्ने देखिँदैछ ।

नागढुंगा-मुग्लिन सडक : ९५ किलोमिटर लामो नागढुंगा-मुग्लिन सडक ३ खण्डमा ठेक्का लगाई विस्तारको क्रममा छ ।

नागढुंगा-मुग्लिन सकड योजना (पूवीखण्ड)का सूचना अधिकारी इन्जिनीयर माधव पौडलले हाल तीनै खण्डमा काम भइरहेको बताए । नागढुंगा-नौबिसे (पहिलोखण्ड)को काम अन्तिम चरणमा पुगे पनि बाँकी दुई खण्डको आधा पनि नभएको उनले बताए ।

उनका अनुसार नागढुंगा-नौबिसे १२.२६ किलोमिटरको सडकको ७१ प्रतिशत काम सकिएको छ । १२.२६ किलोमिटरमध्ये ७.५ किलोमिटर सडक कालोपत्र भइसकेको भने बाँकी पनि असार अघि नै कालोपत्र गरिसक्ने पौडेलले बताए । यो खण्डको ठेक्का १ अर्ब ३१ करोड ८४ लाख रुपैयाँमा एमएस जियाङसु/सगुन जेभीले पाएको छ ।

निर्माणाधीन नागढुंगा-मुग्लिन सडक ।

त्यस्तै, ४३.५४ किलोमिटर लामो नौबिसे-मलेखु (दोस्रो खण्ड)को भौतिक ३४ प्रगति पुगेको सूचना अधिकारी पौडेलले जानकारी दिए । यस खण्डमा वाल लगाउने, बेस राख्ने, कल्भर्ट निर्माण लगायत काम भइरहेको छ । साथै, महादेवबेँसी लगायत स्थानमा गरी ७ किलोमिटर कालोपत्र भइसकेको उनले बताए । यस खण्डको ठेक्का ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा शर्मा/लामा/जेडआइसीजी जेभीले पाएको छ ।

४० किलोमिटर लामो मलेखु-मुग्लिन (तेस्रो खण्ड)को काम भने निकै सुस्त छ । निर्माण अवधि सकिन ८ महिना मात्रै बाँकी रहे पनि हालसम्म भौतिक प्रगति २६.५ प्रतिशत मात्र रहेको पौडले बताए । यस खण्डको ठेक्का शर्मा/जेडआईसीजी जोइन्ट भेन्चरले ४ अर्ब ८० करोड रुपैयाँमा पाएको छ ।

मुग्लिन-पोखरा सडक : मुग्लिन-पोखरा ८० किलोमिटर सडक दुई खण्डमा ठेक्का लगाई विस्तार भइरहेको छ । पूर्वीखण्ड (आँबुखैरेनी-जामुने) ४१.४५ किलोमिटरको काम ८३ प्रतिशत सकिएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यस खण्डको ३३.५६ चार लेनमा र ३.२ किमी दुई लेनमा कालोपत्र सम्पन्न भएको छ । आगामी असारसम्म सबै काम सक्ने लक्ष्य राखिएको छ । यसखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पाएको छ ।

मुग्लिन-पोखरा सडक अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक खण्ड ।

त्यस्तै, ३८.८८ किमी दूरीको पश्चिम खण्ड (जामुने-पोखराको भौतिक प्रगति ५०.३४ प्रतिशत पुगेको मुग्लिन-पोखरा सडक (पश्चिम खण्ड)का प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार हालसम्म १८.१५ किमी ४ लेन र १७.५५ किमी दुईलेनमा कालोपत्र भइसकेको छ । त्यस्तै, १२ पुलमध्ये १० वटा र १०२ कल्भर्टमध्ये ९२ वटा सम्पन्न भइसकेको उनले बताए ।

त्यस्तै, सेतीनदीमा ४ लेनको पुल निर्माण पनि ४४.६६ प्रतिशत काम सकिएको आयोजना प्रमुख कुँवरले जानकारी दिए । यो खण्डको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पाएको छ । पछिल्लो पटक थपिएको म्याद अनुसार २०८२ पुससम्म काम सक्नुपर्नेछ ।

हुलाकी राजमार्ग : नेपालको तराईका वस्तीहरू (झापा केचना-कंचनपुर दोधारा चाँदनी) जोड्ने हुलाकी राजमार्ग १७५३ किलोमिटर लामो छ । जसमा विभिन्न खण्डमा २९ किलोमिटर सडक ४ वा सोभन्दा बढी लेनमा विस्तार भइरहेको छ । सोमध्ये १४ किलोमिटर बढी सडक ४ लेनमा कालोपत्र भइसकेको आयोजनाका सूचना अधिकारी विष्णुबाबु पाण्डेले मेरो अटोलाई जानकारी दिए ।

आव २०६५/६६ देखि सुरू भएको यो सडकको हालसम्मको भौतिक प्रगति ७१ प्रतिशत र वित्तीय प्रगति ६६.६९ प्रतिशत पुगेको छ । हालसम्म ६८ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

उत्तर दक्षिण तथा व्यापारिक राजमार्ग आयोजना : उत्तर दक्षिण राजमार्ग अन्तर्गत करिब ३० किमी सडक ४ र ६ लेनमा विस्तार भइरहेको छ । आयोजनाकी इन्जिनीयर आकृति लखेका अनुसार दुहवी बजार, तरहरा–सेउती, परवानीपुर, जनकपुर ढल्केवर लगायत खण्डमा २५ किमी सडक ४ लेनमा विस्तार भइरहेको छ । त्यस्तै, महेशपुर–सुनवल, वेलहिया खण्डमा साढे ५ किमी ६ लेनमा विस्तार भइरहेको उनले जानकारी दिइन् ।

त्यसैगरी, व्यापारिक राजमार्ग अन्तर्गत  रानी-विराटनगर-इटहरी-धरान सडक  ४९ किमी सडकलाई ६ लेनमा स्तरोन्नति गरिँदैछ । ४२ किमी सडकको ठेक्का लागि काम भइरहेको छ । जसमा ३२ किमी सडक कालोपत्रे सम्पन्न भइसकेको छ । ७ किमीको ठेक्का लाग्न नसकेको आयोजनाले जनाएको छ । यस सडकको समग्रमा भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ । त्यस्तै, बुटवल-बेहलिया २७ किमी, वीरगञ्ज-पथलैया ३२ किमी सडक, जनकपुर जटही ४० किलोमिटर सडक पनि ६ लेनमा विस्तार भइरहेको छ ।

चीन सरकारले अनुदानमा बनाइदिएको कोटेश्वर–कलंकी सडकखण्ड ।

त्यस्तै, एमसीसी अन्तर्गत दाङको धानखोलादेखि लमहीसम्म ७७ किमी सडक ४ लेनमा विस्तार हुँदैछ । यद्यपि, अमेरिकाले एमसीसी परियोजना नै खारेज गरेकाले यो खण्ड विस्तार हुने/नहुनेमा अन्योलमा छ ।

त्यसैगरी, देशभरका विभिन्न पालिकाहरुले पनि आफ्नो क्षेत्रमा छोटो दुरीमा ४ देखि ८ लेनसम्मका सडक निर्माण गरिरहेका छन् ।

यी सडक बनिसके ४ देखि ८ लेनको

हाल देशभर करिब १५० किलोमिटर सडक ४ देखि ८ लेनमा विस्तार भइसकेको छ । काठमाडौं उपत्यकामा माइतीघरदेखि तीनकुनेसम्म ३.५ किलोमिटर ८ लेन, चक्रपथको कोटेश्वरदेखि कलंकीसम्म १० किमी ८ लेनको सडक विस्तार भइसकेको छ । कलंकीदेखि महाराजगंजसम्म विस्तार सुरू हुँदैछ । त्यस्तै, तीनकुनेदेखि सूर्यविनायकसम्म १२ किमी सडक ८ लेनमा विस्तार भइसकेको छ ।

उपत्यका बाहिर चितवनमा गेन्द्राङ-पुलचोक सडक ६ लेनमा विस्तार भएको छ । त्यस्तै, धनगढी, पोखरा, इँटहरी, विराटनगर, धरान, जनकपुर, भैरहवा लगायत ठूला सहरमा छोटो दुरीका सडक ४ देखि ८ लेनमा निर्माण सम्पन्न भएका छन् ।


Back_to_top