काठमाडौं । नेपालकै पहिलो नागढुंगा नौबिसे सुरुङमार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार हालसम्म ९४.५ प्रतिशत कामसम्पन्न भएको हो ।
बाँकी रहेको ५.५ प्रतिशत काम पनि असोज भित्रै सम्पन्न गर्ने लक्ष्य रहेका आयोजनाले जनाएको छ । उक्त सुरुङ आगामी पुस भित्रै संचालनमा ल्याउने सरकारको योजना छ ।
सो अनुसार आवश्यक अन्य अधिकांश कामहरु सम्पन्न गरिसकएिको सडक विभागले जनाएको छ । विभागका महानिर्देशकको सचिवालयका अनुसार साउन २६ गते बसेको मन्त्रिपरिषदको बैठकले सुरुङमार्ग उपभोग दस्तुर समेत स्वीकृत गरिसकेको छ ।
सुरुङमार्गमा गुड्ने सवारी साधनहरूबाट उपभोग दस्तुर सङ्कलन गरी आगामी दिनमा सो सुरुडको मर्मत सम्भार तथा संचालनका लागि आवश्यक स्रोतको दिगो व्यवस्थापन गर्ने उद्देश्य टोल शुल्क निर्धारण गरिएको हो ।
त्यस्तै, सुरुङमार्गको प्रयोगकर्ताबाट उपभोग दस्तुर संकलनको लागि आयोजना मार्फत इलेक्ट्रोनिक माध्यमबाट दस्तुर संकलन प्रयोजनार्थ आरएफआइडी बेस्ड टोल कलेक्सन प्रणाली लागू गर्ने निर्णय भई हाल उक्त प्रणाली जडान भइरहेको छ। यस प्रणालीको प्रयोगबाट सवारी साधनको विन्डशिल्डमा टाँसिने बैंक खाता आवद्द भएको आरएफआइडी ट्रयाग मार्फत सोझै टोल भुक्तानी गर्न सकिनेछ ।
सुरुङमार्गको सञ्चालन, व्यवस्थापन तथा मर्मतका लागि २४/७ सेवा प्रदान गर्नुपर्ने, आपतकालीन अवस्थामा उद्दार कार्य, आगलागी भएको अवस्थामा आगो नियन्त्रण तथा सुरुङमार्गमा जडान भएका पावर सप्लाइ, लाइटिङ, भेन्टिलेसन, इन्टरनल कम्युनिकेसन, रिमोट मनिटरिङ, इमरजेन्सी फ्यासिलिटिज, फायर फाइटिङ लगायतका उच्च प्रविधियुक्त प्रणालीहरूको नियमित संचालन, अनुगमन तथा मर्मतसम्भार गर्न दक्ष जनशक्ति र अन्तर्राष्ट्रियस्तरको अनुभव आवश्यक भएकाले यो कार्य विशेषज्ञ सेवा प्रदायकबाट गराउनु उपयुक्त हुने विभागले जनाएकाे छ ।
उक्त कार्यको लागि आवश्यक पर्ने स्पेसिफिकेसन, म्यानुअल जापानीज परामर्शदाताबाट तयार भएको र विभागीय प्रमुखबाट स्वीकृत भइसकेको छ।
हाल सड़क विभागले नागढुङ्गा सुरुङमार्ग संचालन, व्इवस्थापन तथा मर्मतको लागि सेवा प्रदायक परिचालन गर्न सेवा खरीद कार्यको तयारी गरिरहेको छ। टनेल अप्रेसन एण्ड म्यानेजमेन्टको सेवा प्रदायक खरिद कार्यको लागि अर्थ मन्त्रालयबाट स्रोत सहमति प्राप्त भएको छ भने सेवा खरिद प्रक्रियाको लागि आवश्यक खरिद निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ ।
उक्त कार्यको लागि आवश्यक नमूना बोलपत्र समेत तयार भई सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफलको क्रममा रहेको छ। साथै लागत अनुमान तयार गर्न आवश्यक नर्म्स स्वीकृत भइसकेको छ र हाल लागत अनुमान तयारी कार्य भइरहेको छ।
सुरुङमार्ग संचालनका लागि कम्पनी छनोटका लागि यही भदौ भित्र टेन्डर आह्वान गरिने आयोजनाले जनाएको छ ।


