दशैंमा नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाइने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले दशैं अवधिमा काठमाडौं बाहिर जाने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा-सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

शनिबार सिंहदरबारमा बसेको यातायात व्यवस्था विभाग, सुरक्षा निकाय, यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको बैठकमा दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई सुरुङमार्ग मार्फत जान दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

त्यस्तै, उनले दशैंपछि ती सवारीलाई पुनः सुरुङमार्ग प्रवेशको व्यवस्था गर्न सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्देशन दिने बताए ।

मन्त्री घिसिङले अहिले संचालनको अन्तिम तयारीमा रहे पनि दशैंलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनलाई सुरुङमार्ग प्रयोग गर्न निर्देशन दिइएको बताए ।

त्यस्तै, बैठकले देशभरका सडक अवस्थाबारे २४ घण्टा निगरानी गर्न, आवश्यक समन्वय र व्यवस्थापनका लागि फोकल पर्सनसहित कन्ट्रोल रूम संचालनमा ल्याउन सडक विभागलाई निर्देशन दिने निर्णय गरेको छ।

त्यस्तै, नयाँ बसपार्कसहित मुलुकका विभिन्न राजमार्गमा सुरक्षा चुस्त बनाउन प्रहरी गस्ती बढाउने र अतिरिक्त प्रहरी परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

त्यस्तै, बैठकले मुलुकभरीका मुख्य सडकहरुलाई चुस्त दुरुस्त राख्न, सुधार गर्न गराउन, पहिरोजन्य विपदहरुको व्यवस्थापन गर्न आवश्यक समाग्री तथा यन्त्रहरुको व्यवस्थापन गर्न, बुटवल-नारायाणगढ सडकको दाउने खण्डमा २४ सै घण्टा दुई तर्फी यातायात संचालन गर्न, नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध ९पहिरो० हटाई तत्काल यातायात संचालनमा ल्याउने र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दशैं अगाडि नै सञ्‍चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न गराउन सडक विभागलाई निर्देशन दिएको छ ।

बैठकले सार्वजनिक सवारी साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका तयार गरी छिट्टै मन्त्रालयमा पेस गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय समेत गरेको छ।


Back_to_top