काठमाडौं । नेपालमा सार्वजनिक सवारी साधन भरपर्दो, सहज, छिटो छरितो नहुँदा आम सर्वसाधरण बाध्यतावस निजी सवारीसाधनतर्फ आकर्षित भइरहेका छन् ।
आर्थिक हैसियत भएकाहरूले कार किन्ने गरेका छन् । अधिकांश मध्यम र तल्लो वर्गका मानिसले मोबिलिटीका लागि दुईपाँग्रे सवारी मोटरसाइकल र स्कुटर किन्ने गरेका छन् । नेपालमा कुल सवारीमध्ये झन्डै ८० प्रतिशत हिस्सा दुईपाँग्रे सवारीको छ ।
मोटरसाइकललाई केवल यात्राको सारथी मात्र होइन, आफ्नो जीवनशैली, कार्यशैली र व्यक्तित्व झल्काउने माध्यम समेत हो । त्यसैले किन्नु अघि धेरै कुरा ख्याल गर्नुपर्छ ।
नेपालमा धेरैजसोले दशैं, तिहार जस्तो चाडवाडका अवसरमा नयाँ सवारी साधन किन्ने गर्छन् । यहाँ हामीले नयाँ मोटरसाइकल किन्दा प्राथमिकतामा राख्नुपर्ने ६ विषयको बारेमा चर्चा गरेका छौं ।
१ इन्जिन पावर : मोटरसाइकलको मेरुदण्ड इन्जिन हो । इन्जिनले नै यसको क्षमता र प्रदर्शन निर्धारण गर्छ । जति धेरै सीसीको मोटरसाइकल भयो उति नै पावरफुल हुन्छ । यद्यपि, धेरै सीसीका मोटरसाइकल महँगाको हुनुका साथै वार्षिक कर समेत उच्च हुन्छ ।

सबैभन्दा पहिला आफूले कुन प्रयोजनाका लागि मोटरसाइकल किन्ने हो, त्यो निर्क्यौल गर्नुपर्छ । दैनिक कामकाजका लागि हो भने १२५ देखि २०० सीसीसम्मका मोटरसाइकल उपयुक्त हुन्छ ।
त्यस्तै, टुरिङ, साहसिक यात्रा र स्पोट्र्स राइडका लागि हो भने पावरफुल इन्जिन भएका उपयोगी हुन्छ । यसका लागि २०० सीसीदेखि माथिका मोटरसाइकल किन्नु उपयुक्त हुन्छ ।
२ माइलेज : मोटरसाइकल किन्दा ख्याल गर्नुपर्ने अर्को मुख्य कुरा हो माइलेज । नेपालमा पेट्रोलको मूल्य महँगो छ । जसकारण कम पेट्रोलमा धेरै माइलेज दिने मोटरसाइकल प्राथमिकतामा राख्नुपर्छ । कुनै मोटरसाइकल धेरै सीसीका भए पनि माइलेज उच्च हुन्छ भने कुनै सीसी कम भए पनि माइलेज कम हुन्छ । जति धेरै माइलेज दिन्छ, उति नै तपाईंको इन्धन खर्च जोगाउँछ ।
३. सुरक्षा फिचर : नयाँ मोटरसाइकल किन्दा हेर्नुपर्ने अर्को मुख्य कुरा हो सेक्युरिटी फिचर । मोटरसाइकलमा जति धेरै सुरक्षा फिचर हुन्छ, चालकलाई त्यति नै सहज र सुरक्षित बनाउँछ । डिस्क ब्रेक, एबीएस, राम्रो ग्रिप दिने ट्यूबलेस टायर, मजबुत र कम्फर्टेबल सस्पेन्सन लगायत फिचर भएका मोटरसाइकल किन्नु उपयुक्त हुन्छ ।

४. मूल्य : नेपाली बजारमा न्यूनतम २ लाखदेखि ५० लाख रुपैयाँभन्दा महँगा मोटरसाइकल उपलब्ध छन् । आफ्नो हैसियत अनुसार कति महँगो मोटरसाइकल किन्ने भन्ने निर्धारण हुन्छ । उपभोक्ताले सस्तो मूल्यमा राम्रो माइलेज दिने, कम मर्मत खर्च लाग्ने, टिकाउ हुने र सजिलै स्पेयर पाट्र्स पाइने मोटरसाइकललाई प्राथमिकता दिनुपर्छ ।
५. स्मार्ट टेक्नोलोजी : आजका मोटरसाइकलहरू केवल मेकानिकल मात्र छैनन् स्मार्ट र प्रविधिमैत्री पनि हुन्छन् । प्रायः सबै नयाँ मोटरसाइकलहरूमा पूरा डिजिटल मिटर, ब्लुटूथ कनेक्टिभिटी सिस्टम, स्मार्ट की, एलईडी लाइट र इको–फ्रेन्डली इन्जिन जस्ता सुविधा उपलब्ध भइरहेका छन् । यसले यात्रालाई सजिलो मात्रै नभई चालकको अनुभवलाई रमाइलो पनि बनाउँछ । त्यसैले आफूले किन्ने मोटरसाइकलमा कुन कुन प्रविधि प्रयोग भएको छ, हेर्नुपर्छ, बुझ्नुपर्छ ।

६. सर्भिस : मोटरसाइकल किनेपछि सधैं नयाँ र राम्रै कन्डिसनमा रहँदैन । पुरानो हुँदै गएसँगै क्रमशः पार्टपूर्जा बिग्रिने हुन्छ । त्यसैले सजिलै स्पेयर पार्टपूर्जा पाइने, धेरै आधिकारिक सर्भिस सेन्टर भएका ब्राण्डको मोटरसाइकल किन्नुपर्छ । यसो गर्दा बिग्रिए पनि सजिलै बनाउन सकिन्छ ।
अन्त्यमा,
नेपालमा मोटरसाइकल आज केवल यातायातको साधन मात्रै होइन । युवाको शैली, आवश्यकता र रोजाइको प्रतीक पनि बनेको छ। त्यसैले कुनै पनि ब्राण्डको मोटरसाइकल किन्दा इन्जिन पावर, माइलेज, सुरक्षा, प्रविधि, मूल्य लगायत कुरामा ध्यान दिन सके मात्रै छनोट सही हुन सक्छ ।

