हुवावे ड्राइभर असिस्ट सिस्टम भएको नयाँ दीपल एस ०७ सार्वजनिक, के छन् नयाँ फिचर ?

काठमाडौं । चांगान अटोमोबाइल अन्तर्गतको न्यू इनर्जी भेहिकल युनिट दीपलले हुवावेको स्मार्ट ड्राइभिङ एसिस्ट प्रणाली भएको नयाँ एस ०७ मिड साइज एसयूभी सार्वजनिक गरेको छ ।

दीपलले नयाँ एस ०७ ब्याट्री इलेक्ट्रीक भेहिकल (बीईभी) र एक्सटेन्डेड रेन्ज इलेक्ट्रिक भेहिकल (ईआरईभी) दुवै अप्सनमा सार्वजनिक गरेको हो ।

दीपलले ५ सिटे दीपल एस ०७ एसयूभीको बीईभी भरेयन्टको सुरुआती मूल्य २२ हजार ६० अमेरिकी डलर तोकेर बिक्री सुरु गरेको हो ।

बीईभी भेरियन्टमा २०० किलोवाटको रियर ह्वील इलेक्ट्रीक मोटर छ । जसले २६८ हर्सपावर र २९० न्युटन मिटर टर्क जेनेरेट गर्छ । यसमा ६८.८२ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ । जसले एकपटकको फूलचार्जमा ५५० किमी रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । यो ईभीले ० देखि १०० किमी प्रतिघण्टाको स्पीड भेटाउन ७.४ सेकेण्ड लगाउँछ ।

नयाँ दीपल एस ०७ एसयूभीको लम्बाइ ४७५० एमएम, चौडाइ १९३० एमएम, उचाइ १६२५ एमएम र ह्वीलबेस २९०० एमएम छ । यो अघिल्लो मोडलकै बराबर हो ।

अपडेटेड एस ०७ को प्रोफाइलमा अप्टिमाइज गरिएको ह्वील डिजाइन, टु टोन बडी, कालो रङको डोर ह्यान्डल, साइड स्कर्ट र रियर भ्यू मिरर दिइएको छ । पछाडिको भागमा सुधारिएको बम्पर, थ्रु टाइप टेललाइट र स्टाइलिस रियर स्पोइलर छ ।

इन्टेरियरमा फ्लोटिङ लाइट रिदम, एम्बियन्ट लाइटिङ र स्ट्रेट रिदम, सेन्ट्रल कन्सोल लाइटिङ थपिएको छ । त्यस्तै, इन्टेरियर ट्रिम परिमार्जन गरिएको छ । ढोकाहरूलाई थप स्पिकर राख्न बलियो बनाइएको छ भने परम्परागत मेकानिकल डोर ह्याण्डल प्रयोग गरिएको छ। क्याबिनमा १५.६ इन्चको २.५ के एचडी सेन्ट्रल कन्ट्रोल स्क्रीन र ५५ इन्चको एआर एचयूडी प्रणाली छ ।

नयाँ दीपल एस ०७ मा हुवावेको चेनकुङ एडीएस एसई स्मार्ट ड्राइभिङ असिस्ट प्रणाली समावेस गरिएको छ । यसमा हाइ स्पीड नेभिगेसन क्रुज एसिस्ट (एनसीए), अर्बन एसीसी प्लस र इन्टेलिजेन्ट पार्किङ एसिस्ट जस्ता सुविधा छन् ।

जसले राजमार्ग, शहरी एक्सप्रेसवेमा सहायक ड्राइभिङ, स्मार्ट लेन चेन्ज, मोड लिने, गति मिलाउने, लेन क्रुजिङ असिस्ट, ट्राफिक लाइट नियन्त्रण, १६० भन्दा बढी पार्किङ परिदृश्य, विभिन्न पार्किङ विधि र मेमोरी पार्किङ सुविधा उपलब्ध गराउँछ ।

चांगानले दीपल ब्राण्ड सन् २०२२ देखि बजारमा ल्याएको हो । हाल दीपलका एस ०५ एसयूभी, एल ०७ सेडान, एसएल ०३ सेडान र जी३ १८ एसयूभी उपलब्ध छन् ।

नेपालमा एमएडब्लू वृद्धिले दीपलको एस ०७, एस ०७ एल र एस ०७ आइसीए भेरियन्ट बिक्री गर्दै आएको छ ।


Back_to_top