काठमाडौं । सडक विभाग अन्तर्गतको विकास सहायत कार्यान्वयन महाशाखाले नागढुंगा सुरुङमार्ग निर्माणमा करिब १६ अर्ब रुपैयाँसम्मको ठेक्काका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरेको छ ।
इच्छुक सरोकारवाला निकायले ६० दिन (अशाेज २३ गते) सम्मकाे समय सिमा भित्र प्रस्ताव भर्न सक्ने छन् । उक्त प्रस्ताव अनुसार नागढुंगामा २.६८ किलोमिटरको सुरुङमार्ग बनाउनु पर्ने छ ।
खुला प्रतिस्पर्धाका माध्यमबाट छनोट गरिने ठेकेदारका लागि राष्ट्रिय र अन्तराष्ट्रिय दुवै कम्पनीले भाग लिन पाउनेछन् ।
यो सुरुङमार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ऋण सहयोगमा निर्माण हुने छ । यो प्रस्तावमा निर्माण कम्पनी एउटैले सुरुङमार्गतर्फ जाने दुवैतर्फको बाटो र तोकिएको मापदण्डअनुसारको सुरुङमार्ग बनाउनुपर्नेछ ।
नेपाल सरकारसँग यस अघि भएको सहमतिअनुसार जाइकाले यो सुरुङमार्ग बनाउन १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) आगामी ४० वर्षका निम्ति ०.१ प्रतिशत सहुलियन ब्याज दरमा ऋण सहयोग गरेको हो । सोही रकमलाई सरकारले यो सुरुङमार्ग निर्माणमा खर्च गर्ने छ ।

