काठमाडौं । नेपाली आटोमोबाइल इतिहासमै २०८२ सालमा पहिलोपटक दुई अटोशो आयोजना हुँदै छन् । दुई साताको अन्तरमा एकै प्रकृति, एउटै ठाउँ तर, फरक-फरक संस्थाले अटोशो आयोजना गर्न लागेका हुन् ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्दैछ । यसै वर्ष मात्र स्थापना भएको नाइमाले पहिलोपटक अटोशो आयोजना गर्न लागको हो ।
त्यस्तै, नाडा अटोमोबाल्स एशोसिएसन अफ नेपालले भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमै ‘नाडा अटो शो २०२५’ आयोजना गर्दैछ । ५ दशकको लिगेसी बोकेको नाडाको यो १८ औं संस्करणको अटो शो हो ।
मूलभूत रूपमा नाडा र नाइम एउटै प्रकृतिका संस्था हुन् । गत वर्षसम्म सबै व्यवसायी नाडा अटो शोमा सहभागी हुन्थे । यस वर्ष भने अनौपचारिक रूपमा नाडा ‘फुटेर’ नाइमा जन्मिएसँगै फरक फरक अटो शो आयोजना गर्न लागेका हुन् । दुवै अटोशोमा एउटै प्रकृतिका संस्था, उस्तै व्यवसायी रहेकाले अटो शो पनि उस्तै उस्तै हुने अनुमान गर्न सकिन्छ । यद्यपि, उनीहरूले भने एक अर्काकोभन्दा फरक र भव्य हुने दाबी गरेका छन् ।
दुवै संस्थाले अटो शोको तयारी तीव्र पारेका छन् । दुवै संस्थाले अटो शोमा सहभागी हुने ब्राण्ड, राखिने स्टलको टुंगो लगाइसकेका छन् । नाइमाले गत जेठ २८ गते र नाडाले बिहीबार (असार १९ गते) स्टल बाँडफाट गरेका थिए । मोबिलिटी एक्स्पोको लागि लेआउट डिजाइन, कभरिङ मेटेरियल्स निर्माण, प्रचार प्रसार लगायतको काम सुरू भइसकेको नाइमाले जनाएको छ । नाडाले पनि अब अटो शोको तयारी तीव्र बनाउने जनाएको छ ।
नाइमामा ब्राण्ड, नाडामा स्टल धेरै
ब्राण्ड सहभागीताको आधारमा नाडाभन्दा नाइमा अटो शो ठूलो हुने देखिएको छ । नाडामा कुल ३५ सवारी ब्राण्डले सहभागिता जनाउँदै छन् भने नाइमा ४८ ब्राण्डले भाग लिँदै छन् ।

नाइमामा २१ वटा चारपाँग्रे, १८ वटा दुईपाँग्रे र ९ वटा कमर्शियल ब्राण्डले सहभागीता जनाउँदै छन् । नाडामा १८ वटा चारपाँग्रे, ४ वटा दुईपाँग्रे र १३ वटा लाइट कमर्शियल सवारी ब्राण्ड रहेका छन् । समग्रमा नाडाकोभन्दा नाइमा मोबिलिटी शोमा १३ ब्राण्ड बढी सहभागी हुँदैछन् । चारपाँग्रे र कमर्शियलमा खासै खन्तर नभए पनि दुईपाँग्रेमा भने नाइमामा नाडाकोभन्दा ४ गुणा धेरै ब्राण्ड सहभागी हुँदैछन् ।
स्टल संख्याका आधारमा भने नाइमाभन्दा नाडा अटोशो ठूलो हुने देखिएको छ । नाडामा नाइमाकोभन्दा २७ वटा धेरै स्टल रहने छन् । नाइमामा कुल ४८ र नाडामा ७५ वटा स्टल रहने छन् ।
नाइमा अटो शोमा सवारी साधनको ब्राण्डका लागि मात्र स्टल छुट्याइएको छ । अन्य कम्पोनेन्टहरू जस्तै बैंक, बीमा, लुब्रिकेन्ट, टायर स्पेयर पार्टस लगायतका लागि स्टल छुट्याइएको छैन । नाडा अटो शोमा भने कम्पोनेन्टहरूलाई मात्र ४० वटा स्टल छुट्याइएको छ ।
७ ब्राण्ड भने दुवै अटो शोमा सहभागी हुँदै
७ वटा सवारी ब्राण्ड भने दुवै अटो शोमा सहभागी जनाउने भएका छन् । दुवै संस्थामा रहेका केही व्यवसायीले दुवै अटो शोमा सहभागी हुने भएका छन् ।
चारपाँग्रेतर्फ बीवाइडी र एलएस अटो, दुईपाँग्रेतर्फ रोयल इनफिल्ड र लाइट कमर्शियलतर्फ डोङफेङ, सनलङ, किङलङ र कामा ब्राण्ड दुवै अटो शोमा सहभागी हुने भएका छन् ।
यी हुन् नाडा अटो शोमा सहभागी हुने ब्राण्डहरू
चारपाँग्रे : दीपल, अवतार, डोङफेङ, नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, एवोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, बीएडब्लू, जेवाइ एयर, एलएस अटो, ब्लभल र जिनपेङ ।
दुईपाँग्रे : हिरो, रोयल इनफिल्ड, जोनसन र यामाहा ।
कमर्शियल : न्यू गोन्वो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवाइसी, किङलङ, मोन्त्रा, स्काइवर्थ, कावेई/नाभेको र सनलङ ।
यी हुन् नाइमा मोबिलिटी एक्स्पोमा सहभागी हुने ब्राण्डहरू
चारपाँग्रे : बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडा जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागेन र जीकर ।
दुईपाँग्रे : एम्पियर, एथर, बजाज, बेनेली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो ।
कमर्शियल : चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलङ र सनलङ ।
यी हुन् दुवै अटो शोमा सहभागी हुने ब्राण्डहरू
चारपाँग्रे : बीवाइडी, एलएस अटो
दुईपाँग्रे : रोयल इनफिल्ड
कमर्शियल : डोङफेङ, सनलङ, किङलङ र कामा