काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङको इलेक्ट्रीक ब्राण्ड नामीले नयाँ कम्प्याक्ट एसयूभी ‘नामी ०६’ सर्वाजनिक गरेको छ ।
कम्पनीले आजदेखि चीनमा सुरू भएको सांघाई अटो शो २०२५ मा नामी ०६ सार्वजनिक गरेको हो ।
नामी-०६ डोङफेङको क्वान्टम इलेक्ट्रीक आर्किटेक्चर नं. ३ प्लेटफर्ममा बनेको हो । यो ईभी चिनियाँ बजारमा सन् २०२५ कै दोस्रो त्रैमास भित्रै बिक्री सुरू हुनेछ । डोङफेङले नामी-०६ एकैपटक लेफ्ट ह्याण्ड र राइट ह्याण्ड ड्राइभमा लन्च गर्नेछ ।
यो ईभी सन् २०२५ भित्रै नेपालमा समेत आउने छ । नेपालका लागि डोङफेङको नामी ब्राण्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सका अनुसार नामी-०६ आगामी भदौमा आयोजना हुने नाडा अटो शोमा शोकेश हुनेछ ।
फ्युचरिस्टिक डिजाइन सेपमा बनेको नामी-०६ मा एङ्गुलर जियोमेट्रीक लाइनहरू रहेको छ । यसको फ्रन्टमा टी सेपको एलईडी लाइटबार, ट्रयाङ्गुलर क्रिस्टलाइन टेललाइट टेललाइट तथा ड्युलटोन जियोमेट्रिक साइड मिरर रहेको छ ।
यो ईभीमा दिएको फुलविथ रियर लाइटस्ट्रीप र क्रसओभर स्टाइलको रियर बम्परले मोर्डन लुक्स दिएको छ । नामी-०६ एसयूभीको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम, उचाइ १६४५ एमएम तथा २७१५ एमएमको ह्वीलबेस रहेको छ ।
नामी-०६ को क्याबिनमा ठूलो साइजको फ्लोटिङ सेन्टर स्क्रीन, स्लिम डिजीटल क्लस्टर, ड्युल स्पोक स्टेरिङ ह्वील, कोलुम माउण्टेड गियर सेलेक्टर जस्ता फिचर छन् । यो ईभीमा पानारोमिक सनरुफ, ५० वाटको वायरलेस चार्जर, १२८ कलरको एम्बियन्ट लाइट तथा फ्रन्ट सेन्टर आर्मरेस्टमा हिडन कप होल्डर दिएको छ ।
कम्पनीले नामी-०६ मा १८४ पीएस पावर भएको १३५ किलोवाटको सिंगल मोटर दिएको छ । डोङफेङले यो इलेक्ट्रीक एसयूभीमा ३ सी अल्ट्रा फास्ट चार्जिङ टेक्नोलोजी भएको डोङफेङ मोटर्सको माक ई ब्याट्रीप्याक दिएको छ । एलएफपी केमेस्ट्रीमा रहेको यो ब्याट्रीलाई मात्र ५ मिनेटको चार्जमा १०० किलोमिटरको रेन्ज बढाउन सकिन्छ ।
डोङफेङको नामी ०६ को अप्रोच र डिपार्चर एंगल २३ र ३० डिग्रीको रहेको छ ।

