नामी ह्याचव्याकः मूल्य सोचेभन्दा कम, फिचर सेग्मेन्टमै धेरै

काठमाडौं । बिहिबार साँझ एक कार्यक्रम आयोजना गरेर एमएडब्लू वृद्धिले डोङफेङ नामी इलेक्ट्रीक ह्याचव्याक कार नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले तीन भेरियन्टमा उपलब्ध गराएको नामी ह्याचव्याक मूल्य र फिचरको आधारमा उत्कृष्ट देखिएको हो ।

मूल्यका हिसावले बजारमा उपलब्ध ह्याचव्याकमा निकै उत्कृष्ट लाग्ने नामी कारलाई फिचरको आधारमा सेग्मेन्ट लिडर मान्न सकिन्छ । साइजमा ४ मिटर लामो नामी ई–वान, ई–टु र ई–थ्री भेरियन्टमा उपलब्ध भएको छ ।

कम्पनीले ई–वान र ई–टुलाई सानो ३१.४ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसमा मोटर भने ७० किलोवाटको पाउन सकिन्छ । सानो ब्याट्रीको डब्लूएलटीपी रेन्ज २३७ किलोमिटर रहेको छ ।

टप भेरियन्ट ई–थ्रीमा भने ४२.३ किलोवाट आवरको ब्याट्री छ । मोटर भने समान ७० किलोवाटकै पाउन सकिन्छ । ठूलो ब्याट्रीको रेन्ज भने ३१७ किलोमिटर डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

चाइनिज एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको नामीमा दुई एयरब्याग दिइएको छ । यसमा दिइएको भेहिकल स्टेविलिटी एसिस्टेन्ससँग इबीडीसहितको एबीएस, हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक्स स्टेवलिटी कन्ट्रोल, ब्रेक एसिस्ट, ट्रयाक्सन कन्ट्रोल र एडास फिचर उपलब्ध छ ।

स्लीक डिजाइन, सबै एलइडी लाइट, १७ इन्चको अलोय ह्वील, फ्लस ह्याण्डलबार, फ्रेमलेस डोर, ड्यूल टोन बडी कलर उपलब्ध कारमा लग्जरी क्याबिन पाउन सकिन्छ । मेमोरीसहितको वेलकम सिट, लेदर र्याप स्टेरिङ ह्वील, १२.८ इन्चको एचडी स्कृन, वायरलेस चार्जर जस्ता फिचर यसमा पाउन सकिन्छ ।

पाँच इन्चको इन्फर्मेशन डिस्प्ले, ३२ कलरमा एम्बियन्ट लाइट उपलब्ध कारमा ३६० डिग्री क्यामेरा दिइएको छ । यसमा नर्मल, इको र स्पोर्टस् गरी तीन ड्राइभिङ मोड पाउन सकिन्छ ।

कम्पनीले ई–वान भेरियन्टको मूल्य २९ लाख ९९ हजार, ई–टु भेरियन्टको ३१ लाख ९९ हजार र ई–थ्री भेरियन्टको ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।


Back_to_top