प्राधिकरणको पहिलो चार्जिङ स्टेशन संचालनमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक सरकारी तहबाट विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन संचालनमा ल्याएको छ ।

मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा चार्जिङ स्टेसन रट्घाटन गरेकी हुन् ।

चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।

उक्त चार्जिङ स्टेशनमा २६ वटा ठूला बस माइक्रो, ट्रक, पिकअप तथा कारका लागि र २५ वटा साना ठूला कारहरुका लागि मिल्ने चार्जर रहेको छ। सवारीसाधनको ब्याट्रीको क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा फुल चार्ज हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले निर्माण गरेको चार्जिङ्ग स्टेशनको क्षमता ६० किलोवाटका दुई वटा डीसी र २२ किलोवाटको एउटा एसी रहेको छ । यद्यपि, १२० किलोवाट डीसीसम्म पनि सिंगल डीसी गनले गाडीहरु चार्ज गर्न सक्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार प्रतिकिलोमिटर खर्च कारहरुको औसत ७० पैसा, एसयूभीको ८० पैसा ,माइक्रो बस ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा रहेकोछ ।

प्राधिकरणले समय अनुसार चार्जिङ शुल्क तोकेको छ । मझौला भोल्टेज (३३ केभी)को पिक (साँझ ५ देखि राति ११ बजेसम्म) प्रतियुनिट ८.४० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ४.४५ रुपैयाँ, अन्य (बिहान ५ देखि साँझ ५ बजेसम्म) ६.६० रुपैयाँ पर्छ ।

यसैगरी, मझौला भोल्टेज (११ केभी) मा पिक (साँझ ५ देखि राति ११ बजेसम्म) ८.६० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ५.०५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रतियुनिट ६.७० रुपैयाँ पर्छ ।


Back_to_top