काठमाडौं । एसियाली मोटरसाइकल फेडेरेसन (FIM ASIA) को आयोजनामा डिसेम्बर १३ देखि १८ सम्म फिलिपिन्समा हुने एसिया कप अफ रोड रेसिङ्ग (ACRR) फाइनल राउण्डमा भाग लिन दुई सदस्यिय नेपाली टोली आज फिलिपिन्स प्रस्थान गरेको छ ।
नेपाली राइडर यूकेश थापा र नेपाल अटोमोवाइल्स एसोसिएसनका सचिव विनोद तन्दुकार अफिसियलको रुपमा त्यसतर्पm प्रस्थान गरेका हुन् ।
नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दसरथ रिसाल, उपाध्यक्ष तथा मोटरसाइकल कमिसनका प्रमुख अनिल कुमार बराल, मार्शल कमिसनका प्रमुख यदुराज लामिछाने, एथलिट कमिसनका प्रमुख कृष्ण पौडेल लगायतले नेपाली टोलीलाई आज बिदाइ गरेको हो ।
टारल्याक सर्किट हिल ट्रयाकमा हुने २०० सीसीका मोटरसाइकलको उक्त रेसमा एसिया महादेशका १० वटा देशका राइडर्सले आफ्नो साहस, सृजना र कला प्रस्तुत गर्नेछन् ।
एक हजार ५०० मिटर लम्बाई र १२ देखि १५ मिटर चौडाईको उक्त ट्रयाकमा १५ वटा मोडहरु रहने छन् । नेपालसहित उक्त प्रतियोगितामा जापान, भारत, थाइल्याड, फिलिपिन्स, सिंगापुर, इरान, श्रीलंका, ताईवान र चीनका राइडर्सको सहभागिता हुनेछ ।

