काठमाडौं । जुन गतिमा ईभीले बजार कब्जा गरिरहेको छ । त्यसको रफ्तार हेर्दा लाग्छ, अबको एक दुई वर्षमा पेट्रोल कारको बिक्री इतिहास बन्छ ।
नेपालमा सन् २०१८ बाट ईभी बिक्रीले रफ्तार लिन थालेको हो । विगत ५ वर्षमा ईभीले ग्राहकलाई आफूतिर राम्रैसँग आकर्षित गर्न सफल भएको छ । ईभीले धेरैको ध्यान आफूतिर खिच्नुमा सबैभन्दा महत्वपूर्ण भूमिका राजश्व कम र संचालन खर्च अत्यन्त न्यून हुनु हो ।
अहिले बजारमा चल्तीका ब्राण्ड बनेका टाटा, बीवाइडी र एमजीले ईभीकै बलबुतामा आफूलाई दरिलो बनाएका हुन् । त्यसबाहेक चीनबाट आउने थुप्रै ब्राण्डले ईभीलाई प्राथमिकता दिएर ल्याउन लागेका छन् । उनीहरू पनि ईभीको भेलमा आफूलाई बलियो बनाउन लागिपरेका हुन् ।
हुन्डाई, किया, निसान, सिट्रोन जस्ता ब्राण्डसँग ईभी त छन् । तर, संख्यात्मक रुपमा धेरै भने बिक्री गर्न सकेका छैनन् । साथै, चर्चित ब्राण्ड भएर पनि निम्न ब्राण्डले अहिले ईभी बिक्री थालेका छैनन् ।
महिन्द्रा : नेपालमा ईभीको बिक्री सुरू गर्ने भारतीय ब्राण्ड महिन्द्रासँग नै अहिले ईभी छैन । भारतमा विगत एक वर्षदेखि एक्सयूभी ४०० ईभी बिक्री गर्दै आएको भए पनि अहिलेसम्म नेपाल आएको छैन ।

सन् २०१० ताका नै रेभा र पछि ईटुओ मोडल नेपाल ल्याएर ईभी बिक्रीमा हात हालेको अग्नी इनर्जी अझै नयाँ एसयूभीको पर्खाइमा छ । तर, कम्पनीले अहिले महिन्द्राको ट्रियो तीन पाङ्ग्रे भने बिक्री गर्दै आएको छ ।
मारुती सुजुकी : लामो समयम नेपाली बजारमा एकछत्र राज गरेको मारुती सुजुकी अहिले ईभीको अभाव झेल्दैछ । कम्पनीसँग सन् २०२५ सम्म कुनै पनि ईभी मोडल आउने छैन ।

भारतीय बजारलाई ध्यानमा राखेर सुजुकीले बनाउन लागेको ईभीएक्स मोडल सन् २०२५ मा मात्रै नेपाल आउने छ । त्योभन्दा अगाडि पेट्रोल कारको भरमा नै पर्नु पर्ने बाध्यतामा सुजुकी देखिन्छ ।
रेनो : फ्रेन्च कार निर्माता रेनोले पनि भारतको लागि अहिलेसम्म ठोस योजना बनाएको छैन । तर, चीन र यूरोपमा भने ईभी बिक्री गर्दै आएको छ । नेपालमा रेनोले सन् २०१८ नाडा अटो शोमा ‘रनो जोय’ ईभी ल्याएर देखाएपनि बिक्रीको लागि ल्याएको छैन ।

भारतीय बजारमा ईभी उत्पादन सुरू नभएसम्म रेनोका ईभी पनि नेपाल आउने अवस्था देखिँदैन । क्वीड, काइगर र डस्टर जस्ता चर्चित मोडलको सहारामा बलियो उपस्थिति बनाएको रेनो अहिले भने ईभीको अभावमा पिल्सिएको छ ।
फक्सवागेन : विश्व बजारमा तेस्रो ठूलो उत्पादक रहेको फक्सवागेनका कुन पनि ईभी उत्पादन नेपाल आउन सकेको छैन । कम्पनीले आइडी सिरिजमा विद्युतीय कारहरू उत्पादन गरेर बजारमा पठाइरहेको छ ।

नेपालमा भने तयारी पुगेको छैन भन्दै कम्पनीले गाडी उपलब्ध गराएको छैन । विश्वकै दोस्रो ठूलो र ईभीमा तेस्रो ठूलो उत्पादक भएर पनि नेपालको हकमा ईभीको अभाव झेल्न बाध्य भएको छ ।
स्कोडा : यूरोपियन ब्राण्ड स्कोडाले केही समयअघि ईभी बजारमा ल्याएको छ । तर, नेपाली बजारमा भने तत्काल स्कोडाको ईभी आउने अवस्था छैन । कम्पनीले सेडान र एसयूभी सेग्मेन्टमा आफूलाई नेपालमा बलियो बनाएको थियो । तर, अहिले ईभीको अभाव प्रस्ट देखिन्छ ।

जीप : जीपले पनि अन्तर्राष्ट्रिय बजारमा एभेन्जर नामक एसयूभी बिक्री सुरू गरेको छ । बढ्दो ईभी क्रेजले जीपको कम्पाससम्मका उत्पादन पिल्सीएका छन् । तत्कालै जीपले पनि नेपाल ल्याउन ईभी पाउने अवस्था छैन ।

