काठमाडौं । नाडा अटो शोमा आफ्नो लामो प्रोडक्ट लाइनअप सार्वजनिक गरेको नेटा ब्राण्डले नयाँ एसयूभीको बुकिङ सुरु गर्ने भएको छ । कम्पनीले अटो शोमा प्रदर्शनी गरेको ‘नेटा यू’ मोडलको बुकिङ खुल्ला गरेको हो ।
हिजो बुधबारबाटै नेटा यूको बुकिङ खुल्ला भएको कम्पनीले जनाएको छ । नेटा यू बुकिङ गर्ने ग्राहकले गाडी लिन भने केही महिना कुर्नु पर्ने हुन्छ । अहिले लेफ्ट ह्याण्ड ड्राइभमा मात्रै उपलब्ध नेटा यू चाँडै अपग्रेड सहित राइट ह्याण्ड ड्राइभमा आउन लागेको आधिकारीक बिक्रेता सिजी मोटर्सको भनाइ छ ।
‘अहिले अटो शोमा देखाइएको मोडल नै अपग्रेडसहित नेपाल आउने हो । हामीले हिजोबाटै यसको बुकिङ सुरु गरेका छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
कम्पनीले बुकिङ सुरु गरेको ‘नेटा यू’ मोडलमा ६८.२ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ । तर, डब्लूएलटीको परिक्षणले यसको रेन्ज ४२० किलोमिटर मात्रै प्रमाणित गरेको छ ।
नेटा यूमा १२० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ । यसको पीक टर्क भने २१० एनएम छ । टप स्पीड क्षमता १५० किलोमिटर प्रतिघन्टा रहेको नेटा यू पूर्ण इलेक्ट्रीक प्लेटफर्ममा बनेको एसयूभी हो ।
नेटा यू ठूलो साइजको कम्प्याक्ट एसयूभी हो । अहिले बजारमा रहेका चल्तीका मोडलभन्दा ठूलो साइजमा आउने नेटा यूको लम्बाई ४५४९ एमएम, चौडाई १८६० एमएम र उचाई १६२८ एमएम रहेको छ । यसमा २७७० एमएम लामो ह्वीलवेस दिइएको छ ।
कम्पनीले अहिले यसको मूल्यको विषयमा कुनै जानकारी दिएको छैन । यसलाई नाडामा बुकिङ गर्ने ग्राहकको लागि स्पेशल छुट प्रदान गर्ने मात्रै कम्पनीले भनेको छ । हाम्रो अनुमानमा यसको मूल्य ५२ लाख हाराहारी रहने छ ।
सिजी मोटर्सले अहिले नेटा भी कम्प्याक्ट क्रसओभर मोडल बिक्री गर्दै आएको छ । साथै, कम्पनीले नेटा एस सेडान र नेटा जीटी स्पोर्टस् भेयिरन्ट नाडा अटो शोमा प्रदर्शनी गरिरहेको छ ।


