काठमाडौं । चिनियाँ स्टार्टअप इलेक्ट्रीक भेहिकल कम्पनी होजोन अटोले इन्डोनेशियामा उत्पादन थालेको छ । यसअघि थाइल्याण्डमा उत्पादन सुरू गरेको कम्पनीले मे ३१ बाट नेटा ब्राण्डका विद्युतीय कार इन्डोनेशियामा एसेम्बल सुरू गरेको हो ।
इन्डोनेशियाको प्लान्टबाट नेटा भीको लेटेस्ट मोडल ‘नेटा–।।’ उत्पादन थालेको हो । कम्पनीले नेटा–।। चिनियाँ ब्याट्री उत्पादक कम्पनी ‘गोसन हाइटेक’ले उत्पादन गरेको लिथियम आयोन फस्फेट ब्याट्रीको प्रयोग गरेको छ । नेटाले ईभीमा इन्डोनेशियामै बनेको व्याट्री प्याक प्रयोग गरेको हो ।
नेटाले अन्तर्राष्ट्रिय बजार ब्यापार विस्तार गर्नका लागि विभिन्न देशहरुमा उत्पादन युनिट लगाइरहेको छ । नेटाले यसअघि नै गत नोभेम्बरबाट थाइल्याण्डमा उत्पादन शुरु गरेको थियो । कम्पनीले मलेशियामा समेत तेस्रो उत्पादन युनिट बनाइरहेको छ ।
सन् २०२३ मा नेटाको अन्तर्राष्ट्रिय बिक्री २० हजारभन्दा धेरै भएको थियो । जुन अघिल्लो वर्षका भन्दा ५६७ प्रतिशतले बढि हो । नेटाले सन् २०२३ मा १ लाख २७ हजार ४९६ युनिट ईभी बिक्री गरेको थियो ।
कम्पनीले गत महिनामा १० हजार ११३ युनिट ईभी बिक्री गरेको छ । त्यस्तै यो वर्षको ५ महिनामा नेटाको डेलिभरी ४३ हजार ५६४ युनिट पूगेको देखिन्छ ।

