काठमाडौं । चिनियाँ अटोमोवाइल जायन्ट चांगान अटोले अक्टोबरमा लन्च गरेको कन्भर्टेवल एसयूभी नेपाल आउने भएको छ । आवश्यकता अनुसार पीकअप र एसयूभीमा कन्भर्ट गर्न मिल्ने नेभो ई-०७ नेपाल आउन लागेको हो ।
नेभो ई-०७ विश्वकै पहिलो सेग्मेन्ट मै कन्भर्ट गर्न मिल्ने एसयूभी भएको चांगान दावी गरेको छ । पीकअप मोडमा यसको पेलोड क्यापासिटी ३०० केजीसम्म रहेको छ ।
चांगानको सहायक ब्राण्ड दीपलपछि एमएडब्लू वृद्धि अटोकर्पले नेभो ब्राण्ड पनि ल्याउन लागेको हो । चिनियाँ बजारमा एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल र ब्याट्री इलेक्ट्रीक गरी दुई पावर ट्रेनमा लन्च भएको ई-०७ नेपालमा ब्याट्री इलेक्ट्रीक मात्रै आउने छ ।
नेभो ई-०७ को सबैभन्दा आकर्षक पक्ष भनेकै एसयूभीलाई सामान बोक्नु पर्दा पीकअप ट्रकमा सजिलै परिवर्तन गर्न सक्नु हो । ई-०७ को लम्बाइ ५०४५ एमएम, चौडाइ १९९६ एमएम र उचाइ १६९५ एमएम छ । यसमा ३१२० एमएम लामो ह्वीलवेस दिइएको छ ।

चिनियाँ बजारमा रियर ह्वील ड्राइभ अप्सनमा १६५ किलोवाट र २५२ किलोवाट क्षमताको मोटर छ । चीनमा ड्यूल मोटर भर्सनमा १८८ किलोवाट र २५२ किलोवाट क्षमताको मोटर अप्सन उपलब्ध छ । सम्भवत नेपाली बजारमा १८८ किलोवाट क्षमताको अल ह्वील मोटरमा आउने छ ।
नेभोले आफ्नो कन्भर्टेवल एसयूभीमा ७०.५४ किलोवाट आवर र ८९.९८ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । सानो ब्याट्रीले ५५१ र ठूलो ब्याट्रीले ६५१ किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।
एसयूभीमा सुरक्षाको लागि एडास सिस्टमका साथै ‘नेभिडियाको ओरिन एक्स चीप’ र दुईवटा लाइडार समेत दिएको छ । कन्भर्टेवल एसयूभीको इन्टेरियरमा २८.८६ इन्चको हेडअप डिस्प्ले पाउन सकिन्छ । थ्रीस्पोक स्टेरिङ ह्वील दिइएको एसयूभीमा गियर सेलेक्टर पनि स्टेरिङ कोलुममा नै पाउन सकिन्छ ।
ड्यासबोर्डमा १५.४ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट स्कृन रहेको एसयूभीको मूल्य चिनियाँ बजारमा २८ हजार १ सय डलरबाट सुरु हुन्छ । नेपाली बजारमा आउँदा यसको मूल्य कति पर्छ भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

