काठमाडौं । चिनियाँ सरकारी स्वामित्वको चेरी अटोमोबाइल कम्पनी नेपालमा सन् २०१० ताका नै उपलब्ध थियो । वैद्यज् अर्गनाइजेशन, बामा (बतास एण्ड मल्ल) मोटर्सले नेपालमा बिक्री गरेको चेरी सन् २०१५ ताका बन्द हुन पुग्यो ।
सन् २०२१ मा पुनः नेपाल आएको चेरीले आफ्नो पेट्रोल एसयूभी बजारमा ल्याए पनि राम्रो संख्यामा बिक्री गर्न सकेन । लगभग पेट्रोल कार बिक्रीमा थला परिसकेको चेरीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइललाई इलेक्ट्रीक ब्राण्ड ओमोडा/जेकोले बजारको बलियो खेलाडी बनायो ।
अहिले ओमोडा र जेको दुवै ब्राण्डमा एक/एक मोडल नेपाली बजारमा उपलब्ध छन् । ओमोडा ब्राण्डमा ई-५ कुप्पे एसयूभी बिक्री हुँदै आएको छ । डिलक्स र प्रिमियम गरी दुई भेरियन्टमा बिक्री हुँदै आएको ई-५ को मूल्य पनि आकर्षक नै छ ।
ई-५ डिलक्स भेरियन्टको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ छ भने लग्जरी भेरियन्टको मूल्य ६१ लाख ९९ हजार र लग्जरीमा ड्युल टोन भर्सनको मूल्य ५२ लाख ४९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ । ६१ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्रीमा उपलब्ध ई-५ भ्यालु फर मनी मोडल हो ।
ओमोडाले बजारमा राम्रो प्रभाव पारिरहेको समयमा एसपीजी अटोमोबाइलले जेको ब्राण्डमा नयाँ इलेक्ट्रीक लाइफ स्टाइल प्रोडक्ट बजारमा ल्यायो । कम्पनीले ६७ लाख ९९ हजार मूल्य तोकेर बिक्री सुरू भएको जेको जे-६ ले पनि निकै राम्रो संख्यामा ग्राहक पाउन सफल भएको छ । पृथक डिजाइन, ६५ किलोवाट आवरको एनसीएम ब्याट्री र २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्सको कारण जेको जे-६ ले धेरैको ध्यान खिच्न सफल भएको हो ।
ईभीको दौडले दरिलो बनेको ओमोडा/जेको
नेपालमा विद्युतीय साधनको उपभोग बढ्दा नयाँ आएको ओमोडा/जेकोले सीधा फाइदा उठाउन सफल भएको छ । दुई फरक डिजाइनका आकर्षक एसयूभी लिएर बजारमा आएको कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा नै १२ प्रतिशतभन्दा धेरै बजार हिस्सा ओगट्न सफल भएको हो ।
आधुनिक फिचर, आरामदायी सिट, उच्च पर्फर्मेन्स तथा मूल्यको आधारमा भ्यालु र मनी भएकै कारण ओमोडा/जेको ब्राण्डका कार धेरै उपभोक्ताले किनेका हुन् । त्यसमा सारडा ग्रुपको अटोमोबाइल क्षेत्रको अनुभवले पनि राम्रै काम गरेको देखिन्छ ।
सारडा ग्रुपले यसअघि जापानी ब्राण्ड निसान र डाट्सनको आधिकारिक बिक्रेता भएर काम गरेको थियो । सर्भिस लगायतका क्षेत्रमा निसानदेखि नै लगानी वृद्धि गर्दै गएको ग्रुपले आफ्नो सर्भिसलाई बलियो बनाउँदै लगेको छ । त्यसले पनि उपभोक्ताको विश्वास सारडा ग्रुप माथि बढ्दै गएको देखिन्छ ।
मुख्य प्रतिस्पर्धी बन्ने दाउ
ओमोडा/जेको चिनियाँ ब्राण्डहरू मध्ये एक मुख्य प्रतिस्पर्धी बन्ने दाउमा देखिन्छ । अहिले चिनियाँ ब्राण्डहरू बीवाइडी, एमजी, दीपल, डोङफेङ जस्ता ब्राण्ड चल्तीमा छन् । यी सबै ब्राण्डको लागि ओमोडा/जेको एक बलियो प्रतिस्पर्धी हो ।
मूल्यका हिसाबले ५५ लाखदेखि ७० लाख भित्र पर्ने ओमोडा/जेकोका कारले बीवाइडीदेखि दीपलसम्मका ब्राण्डसँग सीधा प्रतिस्पर्धा गरिरहेको छ । अहिलेसम्म उपलब्ध मोडललाई हेर्ने हो भने ई-५ र जे-६ दुवै फरक लुक्सका एसयूभी हुन् । यस्तोमा ग्राहकले फरक छनोट एउटै शोरुममा पाउने छन् ।
कम्पनीले चाँडै जे-६को फोर ह्वील ड्राइभ भर्सन बजारमा ल्याएर प्रतिस्पर्धी माथि थप बलियो बन्ने योजना बनाइरहेको छ ।

