काठमाडौं । चीनमा बुकिङ खुला भएको २४ घण्टामै निभो क्यू-०६ ले ३५ हजार बुकिङ पाएपछि चर्चा चुलिएको छ । करिब २१ हजार डलर मूल्य कायम भएर बिक्री सुरु भएको मिड साइज एसयूभीको मूल्य र प्रविधिले ग्राहकको ध्यान खिचेको देखिन्छ ।
चांगान ग्रुपको निभो ब्राण्डमा आएको क्यू-०६ एसयूभीको मूल्य १ लाख ३९ हजार ९०० युआन अर्थात् करिब २० हजार ८४५ अमेरिकी डलरबाट सुरु गरिएको छ ।
क्यू-०६ को सबैभन्दा बलियो पक्ष डुअल मोटरसहितको रियर ह्वील ड्राइभ सिस्टम हो । यसले अधिकतम ४४३ एचपी पावर प्रदान गर्छ । मिड साइज एसयूभीको लागि यो स्तरको पावरले पर्फमेन्स कार खोज्नेको माग सम्बोधन गर्छ ।
यसको डिजाइन पनि अर्को आकर्षण हो । फोक्सवागनमा लामो समय काम गरेका डिजाइनर क्लाउस जिकियोराले तयार पारेको क्यू-०६ निकै आधुनिक र प्रिमियम देखिन्छ । यसको लम्बाइ ४८३७ एमएम छ । यसमा २९४० एमएम लामो ह्वीलबेस छ । त्यसैले यसको क्याविन निकै फराकिलो पाउन सकिन्छ ।
नेभो क्यू-०६ को ड्यासबोर्डमा १५.६ इन्चको सेन्टर डिस्प्ले, छतमा जडित मोनिटर र इनबिल्ट फ्रिज जस्ता फिचर छन् । सामान राख्ने क्षमता पनि उल्लेखनीय छ । सामान्य अवस्थामै ७८२ लिटरको बुट स्पेस छ । अगाडि १९६ लिटरको विशाल ठूलो फ्रंस दिइएको छ ।
डिजाइन र पावरका अलावा उपभोक्ता तान्न अन्य धेरै कुरा यसमा छन् । २५६ लाइन लिडार, ११ क्यामेरा र तीन मिलिमिटर वेभ राडारसहितको नविन एडास सिस्टम दिइएको छ ।

