नेपालीको मन जित्दै तीन नयाँ ब्राण्ड

काठमाडौं । दशैंअघि नेपाली बजारमा प्रबेश गरेका तीन नयाँ ब्राण्डले ग्राहकको मन जित्न सफल भएका छन् । दशैंलाई केन्द्रमा राखेर दुई मोटरसाइकल ब्राण्ड र एक कार ब्राण्ड नेपाल प्रबेश गरेका थिए ।

विश्व प्रसिद्ध कार उत्पादक बिएमडब्ल्यू, स्वीडिस मोटरसाइकल उत्पादक हस्कभर्ना र चेक ब्राण्ड जावा नेपाल आएको हो । बिएमडब्ल्यूलाई लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियमले नेपाल ल्याएको हो । त्यसैगरि जावा मोटरसाइकल अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटो इन्क र हस्कभर्ना गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ल्याएको छ ।

बिएमडब्ल्यूले जर्मनी र अमेरिकामा उत्पादन भएका कार नेपाल ल्याएर बिक्री सुरु गरेको छ । आधिकारी कार्यक्रम बिना नै बिक्री सुरु भएको बिएमडब्ल्यूका २ करोडदेखि ५ करोड मूल्यसम्मका कारहरु बिक्री हुँदै आएको छ ।

जावा र हस्कभर्ना भने भारतमा उत्पादन भएका मोडल हुन् । यी दुबै ब्राण्डले २/२ मोडल ल्याएर आफ्नो बिक्री सुरु गरेका छन् । हस्कभर्ना र जावा दुबै महंगो मूल्य पर्ने ब्राण्ड हुन् । हस्कभर्नाको मूल्य ५ लाख ७० हजार र जावाको मूल्य ६ लाख २० हजारदेखि सुरु भएको थियो । यस्तोमा हस्कभर्नाको सुरुवाती आयात पुरै सोल्ड आउट भएको थियो । दशैंमा हस्कभर्ना बुकिङ गरेर बसेका ग्राहकले दशैंपछि यसको डेलिभरी पाउने छन् ।

जावाको बुकिङ पनि निकै राम्रो रहेको कम्पनी स्रोतले जानकारी दिएको छ । दशैं सुरु हुन केहि दिनमात्रै बाँकी रहँदा सार्वजनिक भएको जावा रोयल इन्फिल्डसँग सिधा प्रतिस्पर्धा गर्ने ब्राण्ड हो ।

यी तीन वटै ब्राण्ड अन्तर्राष्ट्रिय अटोमोवाइल बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकाले नेपालमा पनि सजिलै ग्राहकले मनपराएका हुन् ।


Back_to_top