काठमाडौं । आजकल कारहरू ‘स्मार्टफोन अन ह्विल्स’ जस्तै बन्दै गएका छन् । त्यसैले स्मार्ट प्रविधिको प्रयोगसँगै कारहरूमा स्मार्टफोनमा देखिने सफ्टवेयर समस्या देखिन थालेका हुन् ।
अमेरिकी बजार अनुसन्धान संस्था जेडी पावरले सार्वजनिक गरेको २०२६ इनिसियल क्वालिटी स्टडीले नयाँ कारमा सबैभन्दा धेरै समस्या इन्फोटेनमेन्ट प्रणालीमा देखिएको उल्लेख गरेको छ ।
यहाँ जेडी पावरले नयाँ गाडी खरिद गरेका ग्राहकले पहिलो ९० दिनभित्र भोगेका समस्याको मूल्यांकन गर्दा यस्तो रिपोर्ट बाहिर ल्याएको हो । यहाँ खुसीको कुरा के छ भने गत वर्षको तुलनामा नयाँ कारको गुणस्तरमा सुधार देखिएको हो । तर, इन्फोटेनमेन्ट प्रणाली भने थप समस्याग्रस्त बनेको प्रतिवेदनमा उल्लेख छ।
अध्ययनअनुसार मास मार्केट सेग्मेन्टका प्रत्येक १०० वटा गाडीमध्ये ४४.४ वटामा इन्फोटेनमेन्ट सम्बन्धी गुनासा देखिएका छन् । तीमध्ये ६.१ समस्या स्मार्टफोन कनेक्टिभिटीसँग सम्बन्धित रहेका छन् ।
विशेषगरी एप्पल कारप्ले र एन्ड्रोइड अटोसँग सम्बन्धित समस्या सबैभन्दा धेरै देखिएको अध्ययनले देखाएको छ । यी दुई फिचरले मात्रै प्रत्येक १०० गाडीमा ३.८ वटा समस्या सिर्जना गरेका छन् ।
एप्पल कार प्ले र एन्ड्रोइड अटोमा समस्या आउनुको कारण स्मार्टफोनको सफ्टवेयर छिटो–छिटो अपडेट हुनु र त्यसअनुसार कार निर्माताले आफ्नो सफ्टवेयरलाई समयमै अनुकूल बनाउन नसक्नु हो । प्रत्येक नयाँ अपडेटपछि कारको प्रणालीसँग मिलाएर पुनः परीक्षण गर्नुपर्ने भएकाले समस्या बढ्ने गरेको विश्लेषण गरिएको छ ।
स्मार्टफोनबाट गाडीको ढोका खोल्ने, एसी सञ्चालन गर्ने वा रिमोट स्टार्ट गर्ने मोबाइल एपहरूमा पनि प्रयोगकर्ताले उल्लेख्य समस्या भोगेको अध्ययनले देखाएको छ ।
टचस्क्रीनप्रति बढ्दो असन्तुष्टि
अहिले धेरैजसो नयाँ कारमा अधिकांश नियन्त्रणहरू ठूलो टचस्क्रीनमार्फत सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, यही प्रवृत्तिप्रति चालकहरूको असन्तुष्टि बढ्दै गएको अध्ययनले देखाएको छ ।
जेडी पावरको प्रतिवेदनअनुसार गाडी चलाउँदा ध्यान विचलित हुने समस्या अनुभव गरेका ४६ प्रतिशत चालकले यसको प्रमुख कारण टचस्क्रीनलाई मानेका छन् । साधारण कार्य गर्न पनि मेनुभित्र जानुपर्ने भएकाले सडकबाट आँखा हटाउनुपर्ने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ ।
धेरै चालकको गुनासोपछि केही अटोमोबाइल कम्पनीहरू पुनः भौतिक बटनतर्फ फर्किन थालेका छन् । फक्सवागेनका प्रमुख कार्यकारी अधिकृतले भौतिक नियन्त्रणलाई ‘सम्झौताहीन आवश्यकता’ भनेका छन् । हुन्डाई मोटर कम्पनीले ले टचस्क्रीन–आधारित नियन्त्रणलाई ‘झर्कोलाग्दो’ भएको प्रतिक्रिया दिएको छ।
सुधार भएका कुरा
नयाँ कारको गुणस्तरमा आएको सबैभन्दा ठूलो सुधार कप होल्डरमा देखिएको रिपोर्टले उल्लेख गरेको छ। विभिन्न आकारका बोतल र कप सहज रूपमा राख्न मिल्ने तथा प्रयोग गर्न सजिलो डिजाइनका कारण कप होल्डरको गुनासो उल्लेखनीय रूपमा घटेको हो ।
यसका साथै चालकको सहायताका लागि दिइएको एडास, विद्युतीय गाडीको रेन्ज, केबिन भित्रको आवाज नियन्त्रण तथा गाडीको फिट एन्ड फिनिसमा पनि अघिल्लो वर्षको तुलनामा सुधार आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


