काठमाडौं । मारुती सुजुकीले नयाँ जेनेरेशन सेलेरियोको भारतमा बुकिङ खुल्ला गरेको छ । कम्पनीको सर्वाधिक विक्री हुने बजेट ह्याचव्याक कार पुनः सर्वाधिक माइलेजको नारासहित भारतमा बुकिङ खुल्ला भएको हो । यसलाई बुकिङ गर्न चाहनेले भारतमा ११ हजार बुकिङ रकम तिर्नु पर्ने जनाइएको छ ।
पूर्णत नयाँ डिजाइनमा अगाडिको भाग तयार भएको नयाँ सेलेरियोमा हनीकर्व ग्रिल र तेर्सो क्रोम डिजाइन दिइएको छ भने, बीच भागमा सुजुकीको लोगो प्रयोग भएको छ । बल्ब हेडल्याम्प क्लष्टर, नयाँ बोनेट, नयाँ फ्रन्ट बम्पर, फराकिलो एयर इन्टेक, नयाँ फगल्याम्प हाउजिङले यसलाई झट्ट हेर्दा आकर्षक बनाएको छ ।
ठूला झ्याल, नयाँ टेलल्याम्प, लुकिङ ग्लासमा टर्न इन्डिकेटर, नयाँ डिजाइनको ह्वील जस्ता विशेषता प्रदान गरिएको नयाँ सेलेरियोमा १.२ लिटर के१२एन इन्जिन यसमा दिइएको छ । उक्त इन्जिनले प्रतिलिटर २६ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।
नयाँ गाडीको बुकिङ खुल्ला गर्दै कम्पनीका सिनियर एजुकेटीभ डाइरेक्टर शशांक श्रीवास्तवले भने, ‘यूनिक स्टाइल र परिवर्तनकारी अटो गियर सिफ्ट टेक्नोलोजीले सेलेरियोलाई उत्कृष्ट बनाएको छ । नयाँ सेलेरियो नयाँ टेक्नोलोजी, मोर्डन डिजाइनको कारण सहरी क्षेत्रको मुख्य सवारी साधन बन्ने हामीले विस्वास लिएका छौं ।’
नेक्सट जेनेरेशन ड्यूल जेट इन्जिनमा आइडियल स्टार्ट/स्टप टेक्नोलोजीको प्रयोग भएकाले यसले धेरै माइलेज प्रदान गर्ने कम्पनीले दावी गरेको हो । ५ स्पीड म्यानुयल र एएमटी गियरबक्समा उपलब्ध हुने नयाँ सेलेरियोमा सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, पार्किङ सेन्सर, एबीएस, इबीडी, दुई एयरव्याग जस्ता फिचर समेटिएको छ ।
सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले मंसिरमा यसलाई नेपाल ल्याउने तयारी यसअघि नै सुरु गरिसकेको छ । कम्पनी स्रोतका अनुसार भारतमा विक्री सुरु भएको केही दिनपछि नयाँ जेनेरेशन सेलेरियो नेपाल आउने छ । नयाँ सेलेरियोको मूल्य भने भारतमा पनि खुलाइएको छैन ।

