काठमाडौं । यामाहाले हिजो सार्वजनिक गरेको एफजेडएस भी थ्रीको भिन्टेज एडिशन बजारमा विक्री हुँदै आएको मोडलको तुलनामा ४० हजार रुपैयाँ बढी मूल्य रहेको छ । झट्ट हेर्दा उस्तै लागेपनि यसमा दिइएका फिचरको कारण यो मोटरसाइकल महंगो भएको हो ।
साथै, नेपालमा विक्री हुँदै आएको एफजेडएस भी थ्री आफआई सहित बीएस फोर इन्जिनमा थियो । तर, भिन्टेज एडिसन बीएस ६ मोडल हो । त्यसैले यसको मूल्य ४० हजार रुपैयाँ बढी रहेको छ । कम्पनीले टप भेरियन्टको रुपमा डार्कनाइट सार्वजनिक गरेको हो । बीएस ६ को अलावा भिन्टेज एडिशनमा साइड स्ट्यान्ड सेन्सर, ब्लुटुथ कनेक्ट फिचर र लेदर सिट ग्राहकले पाउने छन् ।
साथै, यसमा कम्पनीले मफ्लर कभरलाई नयाँ डिजाइन दिएको छ भने, इन्जिन कौल समेत थप गरेको छ । यसका अलावा कम्पनीले डार्कनाइट भर्सन र रेगुलर मोडलमा बीएस सिक्स इन्जिन दिएर बजारमा ल्याएको छ । यी सबै मोडलमा ब्लुटुथ कनेक्ट फिचर प्रदान गरिएको छ ।

कम्पनीले विक्री सुरु गरेको डार्कनाइट भेरियन्टको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ । त्यसैगरी, बीएस सिक्स अपडेटेड फिचरसहितको एफजेडएसको मूल्य बीएस ४ को तुलनामा २५ हजार रुपैयाँले मूल्य वृद्धि भएको छ । अब नयाँ मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
बीएस ४ यामाहा एफजेडएस भी ३ को मूल्य भने ३ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ ।
भिन्टेज एडिशनमा कम्पनीले कुनै पनि मेकानीकल परिवर्तन गरेको छैन । यसमा १४९ सीसी एसओएचसी, एयरकुल्ड, सिगंल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले १२.४ पीएस पावर तथा १३.६ एनएम टर्क जेनेरेट गर्छ ।

