काठमाडौं । निसानले भारतीय सडकमा नयाँ सी सेग्मेन्ट एसयूभीको परीक्षण थालेको छ । सन् २०२६ मा बजारमा आउने नयाँ एसयूभीको सिधा प्रतिस्पर्धा हुन्डाई क्रेटा र किया सेल्टोस जस्ता एसयूभीसँग हुनेछ ।
अहिले विभिन्न मिडियाहरुले भारतको सडकहरूमा परीक्षण भइरहेको तस्बिरहरू बाहिर ल्याएका छन् । पूर्ण रूपमा ढाकेर परीक्षण भइरहेको निसानको नयाँ एसयूभी ‘फ्रन्ट अपराइट डिजाइन’मा देखिन्छ । साइडमा प्लास्टीक ह्वील आर्क, फाइभ स्पोक अलोय ह्वील, स्क्लप्टेड बोनेट र बीचमा निसानको लोगो सहित प्रमिनेन्ट ग्रिल देखिन्छ ।
एसयूभीको पछाडि स्पोइलर, रुफ रेल, सार्कफिन एन्टेना, स्क्लप्टेड टेलगेट, रेक्ट्रयाङ्गुलर टेललाइट देखिएको छ । इन्टेरियरको कुनै जानकारी बाहिर आएको छैन । निकै मोर्डन डिजाइनमा तयार भएको एसयूभीमा हाइटेक फिचर रहने अनुमान गर्न सकिन्छ ।
निसानले आफ्नो सिस्टर कम्पनी रेनोको आउँदै गरेको नयाँ जेनेरेशन डस्टरमा जस्तै पेट्रोल, सीएनजी र हाइब्रिड पावर ट्रेन दिने अनुमान छ । सुरुवातमा पेट्रोल इन्जिन अप्सनमा आउने एसयूभीको नाम के हुन्छ अहिलेसम्म जानकारी प्राप्त भएको छैन ।
कम्पनीले नयाँ जेनेरेशन किक्सको रूपमा बजारमा ल्याउने एसयूभी ५ र ७ सिट अप्सनमा उपलब्ध हुनेछ ।
नेपाली बजारमा पायोनियर मोटोकर्पले निसानका कार बिक्री गर्दै आएको छ । भारतमा उत्पादन हुने नयाँ एसयूभी नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

