१५०० केजी तौल भएको नयाँ एसयूभी ल्याउँदै टेस्ला, मूल्य निकै सस्तो हुने

काठमाडौं । अमेरिकी अटोमोबाइल कम्पनी टेस्लाले सस्तो मूल्यको नयाँ एसयूभी ल्याउने भएको छ ।

टेस्लाले आफ्नो चर्चित एसयूभी ‘मोडल वाइ’ भन्दा सानो एसयूभी बजारमा ल्याउने भएको हो । यसको मूल्य टेस्लाको हालको सस्तो एसयूभी ‘मोडल ३’ भन्दा पनि सस्तो हुने बताइएको छ । मोडल थ्रीको मूल्य हाल ३७ हजार अमेरिकी डलर हरेको छ ।

सार्वजनिक रिपोर्ट अनुसार टेस्लाका इन्जिनियरहरू एउटा नयाँ र सस्तो एसयूभी बनाउनमा व्यस्त छन् । यो मोडल वाइको अर्को संस्करण नभएर पूर्ण रूपमा नयाँ मोडल हुनेछ ।

टेस्लाले यो नयाँ गाडीको योजनाका बारेमा आवश्यक सामग्री आपूर्ति गर्ने कम्पनीहरूसँग कुराकानी सुरू गरिसकेको छ । टेस्लाको नयाँ एसयूभीको लम्बाइ करिब ४.३ मिटर लामो हुनेछ । जसले यसलाई मध्यम आकारको एसयूभी बनाउने छ । अहिलेको मोडल वाइ ४.७ देखि ४.९ मिटरसम्म लामो छ ।

यो नयाँ गाडी सुरूमा चीनको साङ्घाईस्थित कारखानाबाट उत्पादन गरिनेछ । पछि अमेरिका तथा युरोपमा पनि यसको उत्पादन सुरू हुनेछ । रिपोर्टका अनुसार गाडीको मूल्य घटाउनका लागि यसमा सानो ब्याट्री प्रयोग गरिने छ । यसको रेन्ज भने मोडल वाइको भन्दा कम हुनेछ ।

कम्पनीका अधिकारीका अनुसार यस गाडीमा दुईवटा मोटरको सट्टा एउटा मात्र इलेक्ट्रीक मोटर हुनेछ । टेस्लाले यो गाडीलाई निकै हलुका समेत बनाउन खोजेको छ । जसको तौल करिब १,५०० किलोग्राम हुनेछ ।

टेस्लाको नयाँ गाडी कहिलेसम्म सार्वजनिक हुन्छ एकिन छैन । यद्यपि, यही वर्ष उत्पादन सुरू हुने सम्भावना कम छ । टेस्लाले बनाउने नयाँ गाडी मानिसले चलाउने गाडी हो कि आफैं चल्ने (अटोनोमस) हुनेछ भन्ने प्रष्ट छैन । स्रोतका अनुसार टेस्लाले अब यस्ता गाडीहरू बनाउन खोज्दैछ जुन आफैँ पनि गुड्न सक्छन् र मानिसले चलाउन चाहेमा पनि चलाउन मिल्नेछन् । संसारभर अझै पनि पूर्ण रूपमा आफैँ गुड्ने गाडीका लागि नियम र बजार तयार नभएकाले टेस्लाले दुवै विकल्प भएका गाडी ल्याएर धेरै भन्दा धेरै बिक्री गर्न चाहन्छ।

अहिले बजारमा भएका टेस्लाका सस्ता भनिएका गाडीहरू अन्य ब्राण्डको तुलनामा अझै महँगा छन् । त्यसैले यो नयाँ एसयूभीले नयाँ ग्राहकहरूलाई आकर्षित गर्ने र टेस्लाको बिक्री बढाउने अपेक्षा गरिएको छ।

सस्तो गाडी बनाउने मामिलामा टेस्लाको इतिहास भनेर स्थिर छैन । सन् २००८ मा महँगा गाडीबाट सुरू गरेको टेस्लाले पछि सर्वसाधारणका लागि सस्तो इलेक्ट्रीक गाडी बनाउने लक्ष्य राखेको थियो। सन् २०२० मा एलन मस्कले वार्षिक २ करोड गाडी बेच्ने र २५ हजार डलरको सस्तो ‘मोडल २’ ल्याउने बताएका थिए। तर सन् २०२४ मा मस्कले उक्त योजना रद्द गर्दै रोबोट्याक्सीमा ध्यान दिने बताएका थिए। त्यतिबेला उनले २५ हजार डलरको मानिसले चलाउने गाडी बनाउनु अर्थहीन हुने टिप्पणी समेत गरेका थिए।


Back_to_top