नेक्सन इभी नेपाल आएसँगै सिप्रदीको आक्रमक ‘मूभ’, अन्य ब्राण्डलाई थप चुनौती

काठमाडौं । नेक्सन इभी सिप्रदी ट्रेडिङले नेपाल ल्याएको पहिलो इलेक्ट्रीक एसयूभी हो । इलेक्ट्रीक एसयूभी बजारमा उतारेसँगै टाटाले निकै आक्रमक मूभ गरेको छ । कम्पनीले विद्युतीय कार मात्रै नेपाल ल्याएको छैन सँगै डिसी फास्ट चार्जरसमेत ल्याएको छ ।

विद्युतीय गाडीको आधिकारीक विक्री सुरु गर्नु अघि यति ठूलो संख्यामा फास्ट चार्जर जडान गर्ने टाटा पहिलो कम्पनी बनेको छ । कम्पनीले सुरुमा ८ वटा फास्ट चार्जर जडान सुरु गरेको जनाएको छ । यी सबै चार्जर एक सता भित्र संचालनमा आउने छन् ।

सरकारले नेपाल विद्युत प्राधिकरण मार्फत चार्जिङ नेटवर्क निर्माण कार्य अगाडि बढाएको छ भने निजी क्षेत्रको सहकार्यमा थप ५०० चार्जिङ स्टेशन निर्माण गर्ने घोषणा गरेको छ । सरकारी तबरबाट पहल भइरहेकै समयमा टाटाले यही वर्ष भित्र १५ वटा फस्ट चार्जर राख्न लागेको हो ।

‘हामी ग्राहकलाई मेरो दोस्रो गाडी इभी किन्छु भन्ने होइन, पहिलो तथा एक मात्र गाडी नै इभी किन्छु भन्ने बनाउने योजनामा छौं । कुनैपनि ग्राहकले चार्जिङ स्टेशनको अभावमा इभी लिएर पूर्वपश्चिम हाइवेकाे यात्रामा निस्कन डराउनु पर्ने अवस्थाको अन्त्य गर्न चाहन्छौं । त्यसको लागि धेरैभन्दा धेरै चार्जिङ स्टेशन निर्माण गर्नु नै हो’, सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले मेरोअटोसँग भने ।

सिप्रदीले काठमाडौं उपत्यका र उपत्यका बाहिर गरेर करिब १०० स्थानमा एसी चार्जर जडान गर्न लागेको जनाएको छ । यी चार्जरहरु उपत्यका र बाहिरका पर्यटक स्तरिय होटलको पार्किङमा जडान हुनेछ । कम्पनीले हरेक १५० किलोमिटरको फरकमा डिसी फास्ट चार्जर जडान गर्ने जनाएको छ ।

अन्य ब्राण्डलाई थप चुनौती

चार्जिङ स्टेशन निर्माणदेखि गाडीको मूल्यसम्मले अन्य ब्राण्डलाई सब फोर मिटर सेग्मेन्टमा चुनौती बढाउने भएको छ ।

विगत ३/४ वर्षदेखि इलेक्ट्रीक कार विक्री गर्दै आएका कम्पनीले पनि डिसी फास्ट चार्जर यसरी धेरै स्थानमा लगाउन सकेका छैनन् । वीवाइडी र कियाले सुरुवात गरेको भएपनि त्यो संख्या अत्यन्त नगन्य रहेको छ ।

हुन्डाई र एमजीले एसी चार्जर नै विस्तार गरिरहेका छन् । केही चिनियाँ उत्पादनले पनि एसी चार्जरबाटै आफ्नो काम चलाई रहेका छन् । यस्तोमा टाटाको आक्रमक चार्जिङ नेटवर्क विस्तार रणनीतिले उनिहरु माथि दवाव थपेको छ ।

सब फोर मिटर सेग्मेन्टमा अहिले विभिन्न ब्राण्डका ७ मोडल विक्री हुँदै आएका छन् । यस सेग्मेन्टमा विक्री हुने कारको मूल्य २८ लाखदेखि ५६ लाख रुपैयाँसम्म रहेको छ । तर, नेक्सन इभीको टप भेरियन्ट नै ४० लाखमा किन्न सकिने भएकोले अन्य मोडललाई नेक्सन इभी चुनौती बन्ने देखिन्छ ।

टाटाकाे कहाँ छ डीसी फास्ट चार्जर 

नेक्सन इभीकाे आधिकारीक विक्री शुरू हुनु अगावै सिप्रदीले आठ स्थानमा ३० किलाेवाट क्षमताकाे  डिसी  फास्ट चार्जिङ स्टेशन तयार गरिसकेकाे छ । पहिलाे फेजमा कम्पनीले उपत्यका भित्र ललितपूरकाे बागडाेलमा चार्जिङ स्टेशन बनाएकाे छ । उपत्यका बाहिर चुम्लीङटार, पाेखरा, भैरहवा, हेटाैडा, मुलकाेट, ढल्केबर तथा इटहरीमा जडान गरिसकेकाे छ ।

कम्पनीले पूर्व पश्चिम हाइवेमा प्रत्येक १५० किलाेमीटरकाे दूरीमा डिसी फास्ट चार्जिङ स्टेशन बनाउने याेजना बनाएकाे छ ।

दाेस्राे फेजमा एक वर्षभित्र नारायणगढ, लहान, बुटवल, वालीङ, लहमी, काेहलपूर तथा अत्तरीयामा फास्ट चार्जिङ स्टेशन बनाउने याेजना अघि सारेकाे छ ।


Back_to_top