काठमाडौं । महिन्द्राले आफ्नो चर्चित एसयूभी थारको नेक्ट जेनेरेशन ल्याउने भएको छ । २०२० मा सार्वजनिक गर्ने घोषणा गरेको महिन्द्रा थारको पहिलो संस्करण अक्टोम्बर २०१० मा सार्वजनिक भएको थियो ।
नयाँ डिजाइन र स्वरुपमा निर्माण भएको थार पुरानो मोडलको तुलनामा निक्कै आकर्षक तथा ठूलो रहेको छ । यसको लम्बाई, उचाई र चौडाई रेगुलर मोडलको भन्दा बढी रहने कम्पनीले जनाएको छ ।
आधुनिक डिजाइनमा आधारित थारमा नयाँ ड्याशबोर्ड, अहिलेको मोडलमा उपलब्ध फिट एयरब्यागलगायत सुरक्षालाई मध्यनजर गर्दै विभिन्न विशेषता दिइएको छ । यतिमात्रै नभई, ड्राइभर र यात्रुको सचेतका लागि सिटबेल्ट रिमान्डर जडान गरिएको छ ।
महिन्द्रा थारमा २.० लिटर डिजेल इन्जिनको प्रयोग गरिएको छ । यसले १४० बीएचपी पावरका साथै ३०० एनएम टर्क उत्पादन गर्छ । नयाँ थारमा प्रयोग हुने इन्जिन बीएस–६ मापदन्ड अनुरुप नै तयार पारिएको छ । यसमा ६ स्पीड म्यानुअल गियरबक्स र फोर ह्वील ड्राइभ सिस्टम दिइएको छ ।

थारमा होरिजेन्टल ग्रिल, राउन्ड सेप हेडल्याम्प, फ्लाट बोनेट स्ट्रक्चर, फ्लेयर्ड ह्वील आर्क लगायतका विशेषता दिइएको छ । यसमा एयरब्याग, एबीएस, रियर पार्किङ सेन्सर, हाइस्पीड वार्निङ सिस्टम जस्ता विशेषता दिइएको छ ।


