काठमाडौंबाट अर्को साता दुई नयाँ ईभीको बिक्री सुरु हुँदै

काठमाडौं । मार्चको पहिलो साता दुई इलेक्ट्रीक मोडलको बिक्री सुरु हुने भएको छ । लीपमोटर र एमजीका दुई मोडल दुई दिनको फरकमा बिक्री सुरु हुन लागेको हो ।

मार्च ४ तारिखमा लीपमोटरको टी-०३ बिक्री सुरु हुने भएको हो । कम्पनीले काठमाडौं उपत्यकामा विशेष कार्यक्रम आयोजना गरेर ह्याचव्याक कारको बिक्री सुरु गर्न लागेको हो ।

एस-५

अर्को, एमजीले एस-५ इलेक्ट्रीक क्रसओभर मोडल मार्च ६ तारिखबाट बिक्री सुरु गर्ने छ । पारामाउन्ट मोटर्सले एस-५ को मूल्य लगायतको घोषणा त्यही दिन गर्ने भएको हो ।

दुई दिनको फरकमा नेपाल आउन लागेका दुई विद्युतीय कार एक आपसका प्रतिस्पर्धी भने होइनन् । टी-०३ सानो ह्याचव्याक कार हो । यसको मूल्य ३० लाखभन्दा कम हुने यसअघि नै आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले जनाएको छ ।

एमजीले एस-५ ईभी एसयूभी हो । यसलाई कम्पनीले विभिन्न तीन भेरियन्टमा ल्याउने भएको छ । कम्पनीले ल्याउने एस-५ दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । मूल्यको हिसावले ४७ लाखदेखि ५८ लाखसम्म मूल्य तोकेर यसको बिक्री सुरु हुनेछ ।

नेपालमा विद्युतीय गाडी बिक्रीको लामो अनुभव भएको पारामाउन्ट मोटर्सले ल्याउन लागेको एस-५ ले बजारमा उपलब्ध बीवाइडी एटो-३, ओमोडा ई-५, टाटा कर्भ जस्ता एसयूभीसँग सिधा प्रतिस्पर्धा गर्छ ।

टी-०३

पछिल्लो दिनमा लीपमोटरको सी-१० को सफलता पनि राम्रो देख्न पाइएको छ । सी-१० बढी मूल्यको एसयूभी भएको कारण धेरै मानिसले चाहेर पनि किन्न सकेका छैनन् । त्यस्ता ग्राहकलाई विकल्प दिन टी-०३ नेपालमा बिक्री सुरु गर्न लागेको हो । यसले टाटा टियागो ईभी, नामी इलेक्ट्रीक जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

एमजीले ४९ र ६२ किलोवाट आवरको ब्याट्रीमा एस-५ ल्याउने छ । साथै, टी-०३ लाई लीपमोटरले ३७ किलोवाट आवरको ब्याट्रीमा ल्याउनेछ ।


Back_to_top