काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी नियोको ‘फायरफ्लाई’ मोडल राइट ह्याण्ड ड्राइभमा तयार भएको छ । कम्पनीले सन् २०२६ को सुरुवातबाट थाइल्याण्डमा बिक्री गर्ने योजनासहित राइट ह्याण्ड ड्राइभमा तयार गरेको हो ।
नियो फायरफ्लाई सानो साइजमा आकर्षक फिचर सहितको ह्याचव्याक कार हो । यसलाई थाइल्याण्डपछि अष्ट्रेलिया, युके र नेपाल जस्ता बजारमा बिक्री थाल्ने कम्पनीले योजना बनाएको छ ।
चीनमा औषत एसयूभीकोभन्दा महंगो मूल्यमा बिक्री हुँदै आएको फायरफ्लाई किन्न १६ हजार ८५० देखि १७ हजार ७०० अमेरिकी डलरसम्म तिर्नु पर्नेछ । नियोले यसमा ब्याट्री बेगर पनि किन्न मिल्ने प्लान ल्याएको छ । यसको मूल्यभने ३० प्रतिशत कम छ । ब्याट्री बेगर गाडी किन्ने र कम्पनीको ब्याट्री प्रयोगका हिसावले पैसा तिर्न मिल्ने उक्त स्कीममा किन्दा ११ हजार २३० अमेरिकी डलर पर्छ ।
यस्तो छ फायरफ्लाई ह्याचव्याक कार
निकै प्रिमियम फिचरको साथ बजारमा आएको फायरफ्लाईले अन्तर्राष्ट्रिय बजारमा मिनी कुपरसँग प्रतिस्पर्धा गर्ने कम्पनीको दावी छ । गाडीका फिचरहरु पनि लग्जरीलाई ध्यानमा राखेर ‘लोड’ गरिएको छ ।
नियोले फायरफ्लाईको ड्यासबोर्डमा १३.२ इन्चको स्कृन दिइएको छ । त्यसका साथै क्याविनमा ६ इन्चको इन्फर्मेसन डिस्प्ले, १४ स्पीकर सहितको ७.१ डल्बी साउन्ड सिस्टम, २५६ कलरमा मिलाउन सकिने एम्बीयन्ट लाइट पाउन सकिन्छ ।

सुरक्षाको लागि १५ एक्टीभ सेफ्टी फिचर रहेको कारको हाइस्पीड ड्राइभिङ एसिस्टेन्स सिस्टमको कभर रेट ९९.९९ प्रतिशत रहेको कम्पनीको दावी छ । यसको ड्राइभिङ एसिस्टले लेन चेन्ज, ओभरटेक र पार्किङ आफैँ गर्न सक्छ ।
युरोपियन बजारमा बिक्री गर्ने लक्ष्यका साथ उत्पादन भएको फायरफ्लाईमा १०५ किलोवाट क्षमताको मोटर छ । यसले सून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन ८.२ सेकेन्ड लगाउने छ । टप स्पीड क्षमता भने १५० किलोमिटर प्रतिघन्टा मात्रै छ ।
यसमा ४२.१ किलोवाट आवरको ब्याट्री रहेको छ । सिएलटीसीका अनुसार यसले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिन्छ ।
कहिले आउँछ नेपाल ?
नेपाली बजारमा नियोका उत्पादन प्रबेश गर्ने तयारी भइरहेको छ । अहिल्यै ठ्याक्कै भन्न नसकिएपनि सन् २०२६ को अतिमसम्ममा नियो ब्राण्डका कार नेपाली बजारमा उपलब्ध हुनेछन् । त्यसमा फायरफ्लाई ह्याचव्याक कार पनि उपलब्ध हुनेछ ।

