काठमाडौं । जापानी कार निर्माता कम्पनी निसानले पहिलो क्रसओभर एसयूभी अरियाको ग्लोवल प्रिमियर गर्ने भएको छ । निसान यूरोप डिभिजनले यो नयाँ कारलाई बजारमा ल्याउन लागेको हो । जुलाई महिना ग्लोवल प्रिमियर हुने यो कार २०२१ को सुरुवातसँगै ग्राहकले डेलिभरी पाउने छन् ।
निसानले २०१० देखिनै इलेक्ट्रीक कार उत्पादनमा लगानी बढाउँदै लगेको छ । अरिया कम्पनीको दोस्रो इलेक्ट्रीक कार हुने छ । कम्पनीको पहिलो इलेक्ट्रीक कार निसान लिफ हो ।

कम्पनीले ल्याउने अरिया यूरोप, अमेरिका, जापान, चीन लगायतका देशमा पहिलो चरणमा उपलब्ध हुने छ भने त्यसपछि क्रमश अन्य देशमा बिक्री वितरण हुने छ ।
निसानले अरियाको पहिलो प्रोटोटाइप २०१९ मा देखाएको थियो भने २०२० कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पो लसभेगासमा शोकेस गरेको थियो । निसानको यो एसयूभी एक पटको फुल चार्जमा ४८० किलोमिटर गुडाउन सकिने छ ।
निकै रोमाञ्चक र आरामदायी यात्राको लागि आर्या सहि छनोट हुने कम्पनीको दाबी छ । अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध रहने यो कारमा निसानको प्रोपाइलट २.० सिस्टम जडान हुने छ । यस सिस्टमले गाडी चालकलाई सुरक्षीत तरिकाले गाडी चलाउन प्रेरित गर्ने छ ।

