काठमाडौं । निसानको लागि नेपालको आधिकारीक वितरक पायोनियर मोटोकर्प किक्स किन्ने ग्राहकलाई विभिन्न अफर गरेको छ । कम्पनीले अहिले किक्स किन्ने ग्राहकलाई ३० प्रतिशत तत्काल डाउन पेमेन्ट र २० प्रतिशत डाउन पेमेन्ट ४ महिना भित्र तिर्न सकिनेगरि स्कीम ल्याएको छ ।
अहिले निसान किक्स किन्ने ग्राहकले ६ महिनासम्म किस्ता पनि तिर्नु पर्ने छैन । कम्पनीका अनुसार ७ वा ८ वर्ष जति वर्षको कर्जा गरेपनि कम्पनीले ६ महिनाको सम्पूर्ण किस्ता रकम तिरिदिने जनाएको छ ।
अहिले निसानको सुरुवाति भेरियन्टको रुपमा किक्स एक्सभी भेरियन्ट रहेको छ । कम्पनीले यसको मूल्य ५३ लाख ४९ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आएको छ ।
सरकारी नियमानुसार यसको डाउन पेमेन्ट २६ लाख ७४ हजार ५०० रुपैयाँ हुन्छ । त्यसमा कम्पनीले दिएको अफर अनुसार निसान एक्सभी मोडल किन्न चाहने ग्राहकले १६ लाख ४ हजार ७०० रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी लिन सक्ने छन् । त्यसपछि बाँकी १० लाख ६९ हजार ८०० रुपैयाँ भने ४ महिना भित्र तिर्नु पर्ने हुन्छ ।
यस्तो हुन्छ मासिक किस्ता
यो गाडी किन्न ग्राहकले २६ लाख ७४ हजार ५०० रुपैयाँ बैंकबाट कर्जा लिनु पर्ने हुन्छ । उक्त कर्जा रकम ८ वर्षमा चुक्ता गर्नेगरि १०.५ प्रतिशत व्याजदरमा कर्जा लिदाँ मासिक किस्ता ४१ हजार २९४ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
कम्पनीले गरेको अफर अनुसार तपाईले ६ महिनासम्म किस्ता वापत कुनै रकम तिर्नु पर्दैन । यस्तोमा कम्पनीले २ लाख ४७ हजार ७६४ रुपैयाँ तिरिदिने छ ।
सम्पूर्ण मासिक किस्ताको अनुमानित रकम थाहापाउन यहाँ क्लिक गर्नुहोला ।
यस्तो छ थप अफर
६ महिनाको किस्ता तिरिदिने बाहेक १ वर्षको बीमा, १ वर्षको सडक दस्तुर, सर्भिस र थप वारेन्टी दिने कम्पनलिे जनाएको छ ।
‘हामीले ग्राहकलाई उत्कृष्ट अफर दिन प्रयास गरेका छौं । यसले अहिलेको अवस्थामा गाडी किन्ने मानिसलाई ठूलो फाइदा पुग्ने छ’, कम्पनीका जनरल मेनेजर ज्ञानेन्द्र चन्दले मेरोअटोसँग भने ।
एक्सभी प्रिमियम डिजेल भेरियन्टको मूल्य घट्यो
निसानले आफ्नो एक्सभी प्रिमियम डिजेल भेरियन्टको मूल्य २ लाख रुपैयाँले घटाएको छ । कम्पनीले यसको पुरानो मूल्य ६० लाख ९९ हजारबाट घटाएर ५८ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ ।
यस्तो छ निसान किक्स
डिजेल र पेट्रोल दुबै अप्सनमा उपलब्ध रहेको किक्समा १.५ लिटरको इन्जिन लगाइएको छ । यसमा दिइएको १४९८ सीसी क्षमता पेट्रोल इन्जिनले १०६ पीएस पावर र १४२ एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ११० पीएस पावर र २४० एनएम टर्क जेनेरेट गर्छ ।

किक्सको पेट्रोल भेरियन्टले १४ किलोमिटर र डिजेल भेरियन्टले २० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।
किक्समा स्ट्यान्डर्ड फिचरको रुपमा सबै भेरियन्टमा ड्यूल फ्रन्ट एयरव्याग, इबीडीसहितको एबीएस, आईएसओफिक्स चाइल्ड सिट माउन्ट रहनेछ । यसको टप भेरियन्टमा साइड-एयरव्याग, ईएसपी र हिल-स्टार्ट असिस्टको फिचर पनि रहनेछ ।
निसान किक्सको अन्य फिचरहरूमा एलइडी प्रोजेक्टर हेडल्याम्प, रेनसेन्सिङ्ग वाइपर, कुल्ड र इलूमिनेटेड ग्लोभ-बक्स, क्रुज कन्ट्रोल र ८ इन्चको एन्ड्रोइड अटो तथा एप्पल कार–प्ले सपोर्ट गर्ने इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।

