काठमाडौं । निशान मोर्टस् इन्डियाले भारतीय बजारमा निशान लिफ यसै बर्ष सार्वजनिक गर्ने भएको छ ।
कम्पनीका भारत युनिटका प्रेसिडेन्ट थोमस कुवलले विश्व बजारमा निकै चर्चित बन्दै गएको लिफ भारतीय बजारमा सार्वजनिक गर्न लागेको जानकारी दिएका हुन् ।
हरेक ६ महिनामा भारतीय बजारमा एउटा नयाँ प्रडक्ट ल्याउने जानकारी दिदै थोमसले लिफ इलेक्ट्रीक भेइकलको भारतमा टेष्टिङ सुरु भइसकेको जानकारी दिए ।
हुन्डाई मोर्टस्ले ल्याउन लागेको कोनासँग भारतीय बजारमा प्रतिस्पर्धा गर्न कम्पनीले लिफलाई भारतीय बजारमा ल्याउन लागेको प्रस्ट पारेको छ ।
मिडिया रिपोर्टका अनुसार यस कारको मूल्य भारतीय बजारमा ४० लाख भारु हाराहारीमा रहने आँकलन गरिएको छ । कम्पनीले अहिलेसम्म युरोपियन बजारमा २ लाख ५० हजार युनिट लिफ कार बिक्री भएको जनाएको छ ।
फिचर
यस कारमा ४० किलोवाटको लिथिएम आयन ब्याट्रीको प्रयोग गरिएको छ । यसमा दिइएको इलेक्ट्रीक मोटरले १४७ एचपी र ३२० एनएम टर्क उत्पादन गर्छ ।
निशान इपीएले यस कारले एक पटकको फुलचार्जमा २३५ देखि २४२ किलोमिटर माइलेज दिने जनाए पनि निसान युरोपले ३७८ किलोमिटर माइलेज दिने जनाएको छ ।
यसमा दिइएको ३ किलोवाट ब्याट्री चार्ज गर्न १६ घन्टा लाग्ने छ भने ६ किलोवाटको लागि ८ घन्टा लाग्ने छ । यसको क्विक चार्जिङ प्लगइनको प्रयोगबाट ४० मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीले दाबी गरेको छ ।
नेपालमा कहिले ?
इलेक्ट्रीक कारमा सरकारले कुनै किसिमको करका दर परिर्वतन नगरी त्यसको लागि आवस्यक चार्जिङ स्टेशन निर्माण गर्ने बजेटले घोषणा गरेकाले नेपाली बजारमा अब इलेक्ट्रीक कार आउने सम्भावना धेरै छ ।
त्यसो त नेपाली बजारमा निसानले आफ्ना अन्य उत्पादन बिक्री वितरण गरिरहेको छ । त्यस्तोमा सर्वत्र चासो रहेको इलेक्ट्रीक कार नेपाल आउने सम्भावनालाई नकार्न सकिदैन । कहिलेबाट नेपाल आउँछ भन्ने बिषयमा भने अहिल्यै केही भन्न सक्ने अबस्था छैन । भातमा नै उत्पादन हुने भएपछि ढिलो चाँडो नेपाली बजारमा आउने आँकल गर्न सकिन्छ ।