क्रसओभर एसयूभी डिजाइनमा आयो ‘निसान लीफ’, रेन्ज ५०० किमी

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी निसानले इलेक्ट्रीक भेहिलक लीफको तेस्रो जेनेरेशन मोडल मंगलबार क्रसओभर एसयूभी डिजाइनमा लन्च गरेको छ । आधुनिक इलेक्ट्रीक भेहिकलको पायोनियर मानिने लीफ सन् २०१० मा पहिलो पटक बजारमा आएको थियो ।

विगत १५ वर्षको लिगेसी बोकेको निसान लीफको सबैभन्दा सफल मोडल मान्न सकिन्छ । जतिबेला ईभी भनेपछि ग्राहकको विश्वास नै थिएन, त्योबेला सफलता पाएको मोडलको पहिचान लीफले बनाएको छ ।

निसानले सन् २०२६ मोडलको रूपमा ल्याएको नयाँ लीफको डिजाइन परिवर्तन भएको छ । तेस्रो जेनेरेशनको रूपमा आउन लागेको लीफमा ब्याट्री साइज परिवर्तन भएको छ । पहिलाको भन्दा २५ प्रतिशत ठूलो ब्याट्री प्रयोग गरिएको छ । अब आउने लीफ ईभीमा ७५ किलोवाट अवारको ब्याट्रीप्याक हुनेछ । जसले सिंगल चार्जमा ५०० किलोमिटर भन्दा धेरै हुने कम्पनीको दाबी छ ।

निसान लीफ पहिलेभन्दा केही छोटो हुनेछ । नयाँ जेनेरेशन मोडलको लम्बाइ ४४०४ एमएम छ । जुन पहिलेकोभन्दा ७६ एमएम छोटो हो । यसको चौडाइ भने २५ एमएमले ठूलो छ ।

निसानको नयाँ लीफमा ड्युल स्क्रीन छ । १४.३ इन्चको इन्फोटेन्टमेन्ट रहेको क्रसओभर लीफमा एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ । निसानले यसमा डिमिङ पानारोमिक रुफ दिएको छ । क्याबिनमा ६४ कलरको एम्बियन्ट लाइट छ ।

कम्पनीले नयाँ जेनेरेशन निसान लीफको मूल्य भने सार्वजनिक गरेको छैन । अहिलेसम्म विश्वभर ७ लाख युनिट निसान लीफ गुडिरहेको छ । नेपाली बजारमा पनि सन् २०२१ मा आएको लीफ गुडिरहेको भेटिन्छ ।


Back_to_top