काठमाडौं । बागमती प्रदेश सरकारले ५० किलोवाट क्षमताभन्दा कमका कारमा कर नलाग्ने जनाएको छ । यस्तोमा धेरै संख्यामा रहेका महिन्द्रा इटुओका ग्राहकले भने वार्षिक कर तिर्नु पर्ने छैन ।
प्रदेश सरकारले इलेक्ट्रीक कारमा सवारीसाधन कर लगाउने निर्णय गरेसँगै अब कम्बस्चन इन्जिन युक्त कारको जस्तै इलेक्ट्रीक कारले पनि हरेक वर्ष कर तिर्नु पर्ने भएको हाे ।
एकातिर केन्द्र सरकारले विद्युतीय कारमा भारी कर वृद्धि गरेको र अर्कोतिर प्रदेश सरकारले पनि इलेक्ट्रीक कारमा वार्षिक कर थप गर्ने भएपछि यस्ता साधनहरु प्रति सरकार अनुदार भएको टिप्पणी चलिरहेको छ । यस्तोमा महिन्द्रा इटुओ जस्ता साना कारमा भने वार्षिक करको असर पर्ने छैन ।
महिन्द्रा इटुओमा १९ किलोवाट क्षमताको मोटर प्रयोग भएको छ । बागमती प्रदेशले गाडीको मोटर क्षमता अनुसार कर लगाएको छ। अब ५० किलोवाटदेखि १२५ किलोवाट क्षमताको मोटर जडान भएको कारले १५ हजार रुपैयाँ वार्षिक कर तिर्नु पर्ने छ ।
त्यसैगरि १२६ देखि २२५ किलोवाट क्षमताका सवारी साधनले वार्षिक २० हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । साथै, २२६ किलोवाट भन्दा माथि क्षमताको मोटर जडान भएका सवारी साधनले वार्षिक ३० हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

