अब बागमती प्रदेशका सबै सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य, कति लाग्छ खर्च ?

फाइल तस्बीर

काठमाडौं । अब बागमती प्रदेशमा दर्ता भएका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने भएको छ ।

प्रदेश सरकारले आइतबार ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत यस्तो घोषणा गरेको हो ।

‘सवारी साधनको पहिचान र सुरक्षा सुनिश्चित गर्न सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिनेछ,’ बजेट वक्तव्यमा भनिएको छ ।

हाल प्रदेशमा दर्ता हुने नयाँ र नामसारी हुने सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर जडान अनिवार्य थियो ।

सरकारले बजेट मार्फत सबै सवारीमा इम्बोस्ड जडान अनिवार्य भने पनि कार्यान्वयन हुनेमा भने शंका छ । यसअघि पनि पटक पटक यस्तो घोषणा भए पनि पूर्ण कार्यान्वयनमा आउन सकेको छैन ।

केन्द्र सरकारले २०७४ देखि इम्बोस्ड जडान सुरु गरेकोमा हालसम्म देशभरका ७१ हजार सवारी साधनमा मात्रै जडान भएको छ । जसमा बागमती प्रदेशका ५८ हजार ४१५ सवारीमा मात्रै इम्बोस्ड जडान भएको छ । बागमती प्रदेशमा २० लाख बढी सवारी साधन रहेका छन् ।

कति लाग्छ खर्च ?

यातायात व्यवस्था विभागले सवारी साधन अनुसार इम्बोस्ड नम्बर प्लेटको शुल्क तोकेको छ ।

दुईपाँग्रे सवारी साधनका लागि २ हजार ५००, तीनपाँग्रेका लागि २ हजार ९००र, चारपाँग्रे साना तथा मझौला सवारीका लागि ३ हजार २०० र ठूला सवारीका लागि ३ हजार ६०० रुपैयाँ तोकिएको छ ।


Back_to_top