काठमाडौं । बागमती प्रदेश सरकारले अब ट्राफिकले चिट काटेर पनि जरिवाना नतिर्नेहरूको लाइसेन्स नवीकरण नगर्ने भएको छ ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले चिट काटेर पनि जरिवाना नतिरेकाहरूको लाइसेन्स नवीकरण नहुने व्यवस्था गर्न लागेको हो ।
मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले ट्राफिक जरिवाना नतिर्नेहरूको लाइसेन्स नवीकरण नहुने व्यवस्था गर्न लागिएको बताए । उनले ट्राफिक चिट काटेकाे तर जरिवाना नतिरी बसेकाहरूलाई कानुनी दायरमा ल्याउन यस्तो व्यवस्था गर्न लागिएको बताए ।
‘ट्राफिकले चिट काटेपछि चालकले अनिवार्य जरिवाना तिर्नुपर्छ । कतिपयले चिट काटेर पनि जरिवाना नतिरी बसेको पाइएको छ । त्यस्तालाई कानुनी दायरामा ल्याउन अब लाइसेन्स नवीकरण नहुने व्यवस्था गर्न लागिएको हो,’ उनले मेरोअटोसँग भने ।
उनका अनुसार जरिवाना नतिर्ने चालकको विवरण अनलाइन प्रणालीमै देखिने र जरिवाना नतिरेसम्म लाइसेन्स नवीकरण नगरिने बताए ।
‘चालकको विवरण अनलाइन प्रणालीमै देखिने गरी नयाँ सफ्टवेयर बनाइ अहिले परीक्षणको क्रममा छ । त्यसलाई सरकारले हाल संचालनमा गरिरहेको अनलाइन प्रणाली ईडीएल र ईभीआरएसमा इन्ट्रीग्रेड गरिन्छ,’ उनले भने, ‘अनलाइनबाटै सबै विवरण देखिने भएपछि जरिवाना नतिरी उम्कन पाउँदैनन् ।’ उक्त सफ्टवेयरको परीक्षण सफल हुने बित्तिकै उक्त व्यवस्था कार्यान्वयनमा ल्याइने उनको भनाइ छ ।
यसका लागि नीतिगत व्यवस्था गर्न मन्त्रालयले एक चरणको छलफल गरिसकेको उनले बताए ।चाँडै निर्णय गरिने उनको भनाइ छ ।
उनले राजस्व नतिर्ने प्रवृत्ति बढ्दै गएकाले कानूनी कारबाही गर्ने प्रदेश सरकारको तयारी रहेको बताए । सेवाग्राहीले जरिवाना नतिर्दा सरकारले पाउनुपर्ने राजस्व समेत गुमिरहेकाले कडाइ गर्न लागेको हो । साथै, सरकारले जरिवाना नतिर्नेलाई दोब्बर जरिवाना तिराउने लगायत अरु कडा व्यवस्थाका बारेमा पनि छलफल गरिरहेको छ ।
हाल अनलाइनबाटै लाइसेन्सको जानकारी हेर्ने, जरिवाना तिर्ने, ब्लूबुक देखाउने, ट्राफिक नियम उल्लङ्घनबारे सूचना प्राप्त गर्ने, अनलाइन कक्षा लिने लगायत सुविधा उपलब्ध छ ।

