काठमाडौं । लकडाउनले थला परेको भारतीय अटोमोवाइल बजारले रफ्तार पकडेको छ । अगस्टबाट बिक्रीमा नयाँ रफ्तार भेट्टाएको अटो बिक्रीले अक्टोबरमा नयाँ रेकर्ड कायम गर्न सफल भएको हाे ।
अक्टोबर २०२० मा मारुती सुजुकी एक्लैले १ लाख ६३ हजार ६५६ यूनिट कार डिलरलाई बिक्री गरेको छ । कम्पनीले २०१९ अक्टोबर महिनामा १ लाख ३९ हजार १२१ यूनिट मात्रै कार बिक्री गरेको थियो । यस्तोमा कम्पनीले अघिल्लो वर्षको तुलनामा १७.६ प्रतिशतले यो वर्ष बिक्री बढाएको छ ।
कोरियन कम्पनी हुन्डाईले अघिल्लो अक्टोबरको तुलनामा १३.२ प्रतिशतले बिक्री बढाएको छ । कम्पनीले ५६ हजार ६०५ यूनिट कार भारतमा बिक्री गर्दै अघिल्लो वर्षको ५० हजार १० यूनिटभन्दा बढी बिक्री गरेको हो ।
टाटाले झण्डै८० प्रतिशतको वृद्धि गरेको छ । सन् २०१९ अक्टोबरमा १३ हजार १६९ यूनिट कार बिक्री गरेको टाटाले अहिले २३ हजार ६०० यूनिट कार बिक्री गर्न सफल भएको छ ।
सूचीको चौथो स्थानमा भारतको लागि नयाँ ब्राण्ड किया पर्न सफल भएको छ । कियाले अक्टोबर महिनामा २१ हजार २१ यूनिट गाडी बिक्री गर्दा महिन्द्राले १८ हजार ३१८ यूनिट गाडी बिक्री गर्दै टप ५ कम्पनीमा आफुलाई उभ्याएको छ ।
१२ हजार ३७३ यूनिट कार बिक्रीसँगै टोयोटा छैटौँ स्थानमा रहँदा अघिल्लो वर्षभन्दा ४ प्रतिशतले बिक्री कम भएको रेनो सातौँ स्थानमा रहेको छ । रेनोले अक्टोबरमा ११ हजार ५ यूनिट कार बिक्री गरेको छ ।
आठौँ स्थानमा होन्डा रहेको छ । होन्डाले ८ प्रतिशतले नै आफ्नो बिक्री बढाएको छ । कम्पनीले अक्टोबर महिनामा १० हजार ८३६ यूनिट कार बिक्री गरेको जनाएको छ ।
सूचीको नवौँ स्थानमा फोर्ड र दशौं स्थानमा एमजी रहेका छन् । यी दुबै कम्पनीको बिक्री केहि प्रतिशतले बढेको छ । अक्टोबरमा फोर्डले ७ हजार ८४ यूनिट कार बिक्री गर्दा एमजीले ३ हजार ७५० यूनिट कार बिक्री गरेको छ ।
अक्टोबरमा सबैभन्दा धेरै बिक्री घटेका कम्पनी फक्सवागन र निसान हो । फक्सवागनले आफ्नो बिक्री ३६ प्रतिशतले गुमाउँदा निसानले ३० प्रतिशतले गुमाएको छ ।
अक्टोबरमा फक्सवागनले २ हजार ५४, स्कोडाले १ हजार ४२१, निसानले १ हजार १०५ र जीपले ८३२ यूनिट कार बिक्री गरेका छन् ।

