सानो इन्जिन, कम मूल्य र प्रिमियम फिचरसहित निसान म्याग्नाइट बिक्री सुरु हुने

काठमाडौं । निसानको सबैभन्दा सानो एसयूभी म्याग्नाइट भारतमा बिक्री सुरु गर्ने तयारी भइरहेको छ । कम्पनीले दिपावली अगाडि नै यसको बिक्री सुरु गर्न लागेको हो ।

सब फोर मिटर सेग्मेन्टमा प्रतिस्पर्धा गर्न आउन लागेको म्याग्नाइटले टाटा नेक्सन, मारुती सुजुकी भिटारा ब्रेजा, हुन्डाई भेन्यू, महिन्द्रा एक्सयूभी ३००, फोर्ड इकोस्पोर्ट, होन्डा डब्ल्यूआरभी जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नु पर्ने छ ।

सब फोर मिटर एसयूभी सेग्मेन्टमा फिचर प्याक एसयूभीहरु प्रतिस्पर्धामा रहेका छन् । तर, निसान म्याग्नाइटले यी सेग्मेन्टमा रहेका कारलाई टक्कर दिन राम्रै तयारी गरिरहेको बताइएको छ ।

म्याग्नाइटमा केहि सेग्मेन्ट फर्ष्ट फिचर उपलब्ध रहेको छ । जसमा अराउन्ड भ्यू मोनिटर, ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, मोवाइल होल्डरको साथ रियर आर्मरेष्ट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, इको फङ्सन, कलर र वेलकम एनिमेशन जस्ता फिचरले यसलाई प्रिमियम बनाएको छ ।

कारमा दिइएको लाइटहरु सबै एलइडी प्रयोग गरिएको छ भने ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले ड्यासबोर्डलाई आकर्षक बनाएको छ । सेग्मेन्टमा नै पहिलो पटक उपलब्ध ३६० डिग्री क्यामेराले ग्राहकलाई लोभ्याउने छ ।

यद्यपी सेग्मेन्टमा नै सबैभन्दा सानो इन्जिन प्रयोग भएको म्याग्नाइटले पावर चाहने ग्राहकलाई भने निरास बनाउन सक्छ । यसमा १.० लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ । सानो इन्जिनको कारण यसको मूल्य सेग्मेन्टमा नै अहिलेसम्मकै सबैभन्दा कम हुने अपेक्षा गरिएको छ ।

नेपालमा दुई महिनापछि आउने घोषणा भइसकेको निसान म्याग्नाइटले भारतमा कस्तो व्यापार गर्छ त्यो भने अर्को महिना नै थाहा पाउन सकिने छ । पायोनियर मोटोकर्पले २०२१ जनवरीबाट यसको बिक्री नेपालमा सुरु गर्ने जनाएको छ ।


Back_to_top