ताला लगाएर मात्रै पेट्रोलियम पदार्थको ढुवानी

 लुम्बिनी । नेपाल आयाल निगम क्षेत्रीय कार्यालय भलबारीले तेल बोक्ने ट्यांकरमा आजबाट सुरक्षात्मक लकिङ प्रणली लागू गरेको छ ।

बीच बाटोबाट चुहावट तथा चोरी हुन नदिन भन्दै नेपाल आयाल निगमले भलबारी डिपोका लागि ट्यांकरमा सिलका साथै ताला लगाएर मात्रै पेट्रोलियम पदार्थको ढुवानी गर्ने भएको हो ।

निगमको भलबारी डिपोका लागि डिजेल र पेट्रोल ढुवानी गर्न भारतको बैतालपुर पुग्ने ट्यांकरमा पेट्रोलियम पदार्थ लोड गरेपश्चात् ताला लगाएर ढुवानीको शुरुआत गरिएको थियो ।

बैतालपुरबाट सुरक्षात्मक लकिङ सिस्टम लागू गरी आएका ट्यांकरको तोला खोलेर उक्त प्रणालीको शुरुआत गरिएको हो । आयाल निगमले शुरु गरेका सुरक्षात्मक लकिङ प्रणालीले आयल निगमको आन्तरिक सुधारलाई महत्वपूर्ण योगदान पुग्ने निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए।

“ढुवानीका क्रममा बीच बाटोबाट हुन सक्ने पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण र चोरी–निकासी तथा अन्य खालका बदमासी हुन नदिन निगमले यो कार्य सञ्चालन गरेको हो,” उनले भने, “पहिलो चरणमा भारतको सिलुगुढी डिपोदेखि झापा डिपोसम्म यो प्रविधि लागू गरिएको र आजदेखि भारतको बैतालपुर डिपोदेखि भलबारी डिपोसम्म सञ्चालनमा आएको ट्यांकरमा ताला लगाएर ढुवानी शुरु गरिएको छ ।”

यसभन्दा अघि पेट्रोलियम पदार्थ लोड गरिसकेपछि ट्यांकरमा सामान्य एउटा मात्र तारले सिल गरेर ढुवानी गर्ने गरिन्थ्यो । खाल्टाखुल्टी र भत्केको सडकमा तार सहजै चुँडिने सम्भावना रहेकाले भरपर्दो थिएन । पेट्रोलिययम पदार्थ ढुवानी गर्न गएका ट्यांकरलाई लोड गरिसकेपछि बैतालपुर र मुगलसरायमा रहेको भारतीय आयल कर्पोरेशनका कर्मचारीले विशेष खालको ताला लगाइदिने गर्छन् । भलबारी डिपोमा अनलोड गर्ने बेलामा उक्त ताला नेपाल आयल कर्पोरेशनका कर्मचारीले खोल्नेछन् ।

एउटा ट्यांकरमा लगाइएको ताल्चाको चाबी नेपाल आयल कर्पोरेशन र भारतीय आयल कर्पोरेशनका कर्मचारी दुवैतर्फ रहनेछन् ।

भलबारी डिपोमा सञ्चालनमा रहेका ट्यांकरमध्ये अहिले ३३ वटामा तत्काल सुरक्षात्मक लकिङ प्रणली (ताला लगाउने कार्य) लागू गरिएको र बाँकी ट्यांकरमा असार मसान्तभित्र लागू गरिसक्ने आयाल निगम क्षेत्रीय कार्यालय भलबारीका प्रमुख अशोक शाहले जानकारी दिए ।

उनका अनुसार भारतको बैतालपुर र मुगलसरायबाट भलबारी डिपोका लागि कूल १९३ वटा ट्यांकरले पेट्रोलियम पदार्थको ढुवानी गर्ने गर्छन् । जसमध्ये तत्काल ३३ वटा ट्यांकरमा ताला लगाएर पेट्रालियम पदार्थ बोक्नेछन् । अन्य ट्यांकरमा पनि ताला लगाउन मिल्ने गरी ट्यांकरधनीले तयारी गरिरहेका छन् ।

तीन महिनाभित्र सबै ट्यांकरमा तालाबन्दी गरी ढुवानी गरिने गरी आन्तरिक तयारी थालिएको कार्यालयका प्रमुख शाहले जानकारी दिए।

कतिपय ट्यांकरबाट चालक आफैँले र चालकसँगको मिलेमतोमा अन्य व्यक्तिले निगमको डिपोमा अनलोड हुनु अगावै पेट्रोलियम पदार्थको चोरी हुने गर्दथ्यो । ताला लगाउने प्रणाली गर्दा यो समस्या हटेर जाने उनको भनाइ छ ।

निगमको भलबारी डिपोका लागि दैनिक बैतालपुरबाट ८०० केएल डिजेल र मुगलसरायबाट २०० केएल पेट्रोल ढुवानी हुने गर्छ । पश्चिामाञ्चल पट्रोलियम डिर्लस एशोसिएशनले पनि यस कार्यको स्वागत गरेको छ ।

एशोसिएशनका अध्यक्ष प्रेम न्यौपानेले सुरक्षात्मक लकिङ प्रणालीका कारण पेट्रोलियम पदार्थको गुणस्तरमा कुनै समस्या नआउने भएकाले आफूहरुलाई पनि तेल बेच्न सजिलो हुने बताए । 

पेट्रोलियम ढुवानी एशोसिएशन रूपन्देहीका अध्यक्ष राकेश कसौधनले सुरक्षात्मक लकिङ सिस्टमले सबैलाई फाइदा पुग्ने बताउँदै बीच बाटोमा चुहावटको समस्या देखापर्ने भएकाले ताला लगाउने काम गरिएको र यसले सबैलाई सहज हुने धारणा व्यक्त गरे। 

सुरक्षात्मक लकिङ प्रणली लागू गरिएका ट्याकरबाट मात्रै ढुवानी गर्नका लागि एशोसिएशनले पनि माग गरेको छ, उनले भने। 


Back_to_top