अटो–फ्याक्ट्सः ३० लाख सवारीसाधन आउँदा कर्णाली प्रदेशमा ८२२ वटामात्रै, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०७४/०७५ को ७ महिनासम्म आइपुग्दा कुल ३० लाख ८ हजार १ सय ९ वटा सवारीसाधनहरू दर्ता भएका छन् । 

सात प्रदेशमध्ये, सबैभन्दा बढी प्रदेश नम्बर ३ मा ११ लाख ९८ हजार ८ सय १३ सवारीसाधन दर्ता भएका छन् भने प्रदेश नम्बर ६ (कर्णाली) मामात्र ८ सय २२ सवारी साधनहरू दर्ता भएको तथ्यांकले देखाएको छ । प्रदेश नम्बर ३ मा उपत्यकासहित १३ जिल्लाहरू रहेका छन् । 

आर्थिक वर्ष २०७४/०७५ को पहिलो ७ महिनासम्ममा दर्ता भएका सवारीसाधनहरूमध्ये सबैभन्दा बढी दर्ता हुनेमा प्रदेश नम्बर ३ रहेको छ भने, त्यसपछि प्रदेश नम्बर २ रहेको छ । जहाँ कुल ७ लाख ९७ हजार सवारीसाधनहरू दर्ता भएका छन् । 

त्यसैगरी, क्रमशः प्रदेश नम्बर ५ मा ४ लाख ८० हजार ४ सय ८१, प्रदेश नम्बर १ मा ४० लाख ८ हजार ३ सय ५५, प्रदेश ४ मा १ लाख ५४ हजार २ सय ६९, र प्रदेश नम्बर ७ मा ५६ हजार ५ सय ९९ सवारीसाधन दर्ता भएका छन् । 

कुन सवारीसाधन कति आए ?

हालसम्म आएका सवारीसाधनहरूमध्ये सबैभन्दा बढी दर्ता मोटरसाईकलको रहेको छ । कुल २३ लाख ७२ हजार ३ सय १६ वटा मोटरसाइकल नेपालभर दर्तामा रहेका छन् । त्यसैगरी, आर्थिक वर्ष २०७४÷०७५ को सात महिनासम्ममा कुल २ लाख ७० हजार ७ सय ५३ वटा कार/जीप/भ्यान दर्ता भएका छन् भने, १ लाख ३६ हजार ७ सय ५५ वटा ट्र्याक्टर दर्ता भएका छन् । 

८२ हजार २ सय २३ वटा डोजर/ट्रक दर्ता हुँदा, ७८ हजार ८ सय २९ वटा बस/मिनीबस दर्ता रहेका छन् । ६७ हजार २ सय ३० टेम्पो/रिक्साजस्ता सवारीसाधनहरू दर्ता भएको तथ्यांकमा देखिएको छ । 

समग्रमा सबैभन्दा बढी दर्ता हुने सवारीसाधन मोटोरसाइकल रहेको छ भने सबैभन्दा कम दर्ता हुनेमा टेम्पो/रिक्सा रहेको छ ।

(यो स्तम्भ फ्याक्ट्स नेपाल र मेरोअटो डटकमबीचको सहकार्यमा तयार पारिएको हो । हरेक हप्ता बुधबार प्रकाशित हुनेछ ।)


Back_to_top