पुरानै मूल्यमा विद्युतीय कार, यस्तो थियो पुरानाे मूल्य

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट विद्युतीय गाडीमा अन्तःशुलक खारेज र भन्सार दरमा कटौती गरेपछि पुरानै मूल्यमा विद्युतीय कार किन्न पाइने भएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को बजेट आउनु अघि बजारमा चल्तीका विद्युतीय कारमा महिन्द्रा इटुओ, हुन्डाई कोना, किया निरो, एमजी इजेडएस र विवाइडी इ६ रहेका थिए । अब यी सबै गाडी पहिलेकै मूल्यमा पाउने अवस्था सृजना भएको छ ।

अघिल्लो बजेट अगाडि एमजी इजेडएसकाे मूल्य ५० लाख हुन्डाई कोना ५५ लाख ९६ हजार, विवाइडी इ६ को ६६ लाख र किया निरोको ६६ लाख ९० हजार रुपैयाँ रहेको थियो । कोना ६४ किलोवाट आवरको व्याट्री युक्तको मूल्य भने ६५ लाख ९६ हजार रुपैयाँ राखिएको थियो ।

साथै, महिन्द्रा इटुओ स्लसको मूल्य भने २२ लाख ६५ हजार रुपैयाँ निर्धारण गरेर विक्री हुँदै आएको थियो । सरकारले चालु आर्थिक वर्षमा बढाएको कर हिजो शनिवारबाट घटाएकोले यी सवारी साधनको मूल्य लगभग पहिलेकै अवस्थामा फर्कने अनुमान गर्न सकिन्छ ।

पूर्णरुपमा अन्तःशुल्क खारेज भएको अवस्थामा गाडीमा हुने मोटर क्षमताको आधारमा भन्सार शुल्क निर्धारण गरिएको छ । यस आधारमा किया निरो, विवाइडी इ६ र हुन्डाई कोनाको ठूलो व्याट्री युक्त कारको मूल्य भने सामान्य वृद्धि हुने देखिन्छ ।

हिजो सार्वजनिक भएको बजेटले १०० किलोवाट क्षमतासम्मका विद्युतीय कार, जीप, भ्यानमा १० प्रतिशत, १०० किलोवाटभन्दा माथि २०० किलोवाटसम्मका साधनमा १५, २०० देखि ३०० किलोवाट क्षमताको मोटर भएकामा ३० र ३०० किलोवाट भन्दा माथिका साधनमा ४० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ ।


Back_to_top