मारुती सुजुकीले भारतीय बजारमा हिजो अल-न्यू वागेन–आर सार्वजनिक गरेको छ । कम्पनीले वागेन-आरको २० वर्ष पुगेको अवशरमा अल न्यू वागेनआर सार्वजनिक गरेको हो ।
२० वर्षको इतिहास भएको वागेन-आरको नयाँ मोडल आएसँग सबैमा यसमा कस्तो भिन्नता रहेको छ भन्ने जिज्ञासा हुनु स्वभाबिक हो । त्यसैले हामीले कम्पनीले ल्याएको नयाँ गाडी र पुरानो भिन्नता खोज्ने प्रयास गरेका छौं ।
अवधारणा
अल-न्यू वागेन-आर हर्टटेक अवधारणामा निर्माण भएको छ । यही अवधारणामा इग्नीश, स्वीफ्ट, डिजायरलगायतका मोडल निर्माण भैसकेका छन् । नयाँ मोडल आफैँमा आकर्षक हुनुकासाथै बढी माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ ।
यसले उत्कृष्ट पफर्मेन्स प्रदान गर्ने कम्पनीले जनाएको छ । तुलनात्मकरुपमा पुरानो मोडलको भन्दा नयाँ मोडलको डिजाइन उत्कृष्ट रहेको छ ।
डायमेन्सन
पुरानो मोडलको तुलनामा अल-न्यू वागेन-आरको आकार र साइज ठूलो रहेको छ । यसको लम्बाई ३ हजार ६ सय ५५ एमएम रहेको छ । यो पुरानो मोडलको तुलनामा १९ एमएम लामो रहेको छ भने पुरानो मोडलको तुलनामा १४५ एमएम फराकिलो रहेको छ ।
पुरानो वागेन-आरको चौडाई १६२० एमएम रहेको थियो भने, नयाँ वागेन–आरको उचाई पुरानोको भन्दा ५ एमएमले बढी अर्थात् १६२५ एमएम रहेको छ । यसको क्याबिनसमेत पहिलोभन्दा ठूलो रहेको छ । नयाँ वागेन–आरको ह्वीलवेश ३५ एमएमले बढी रहेको छ ।
लूक्स
अल-न्यू वागेन-आरमा टलबोय लूक्स दिइएको छ । यसमा आकर्षक हेडल्याम्पकासाथै आधुनिक टेलल्याम्प लगाइएको छ । अल-न्यू वागेन-आरमा उपलब्ध सी-पिलरले थप आकर्षक बनाएको छ ।

विशेषता
मारुती सुजुकीको इन्टेनियरमा आकर्षक विशेषता दिइएको छ । यसमा ७.० इन्च इन्फोटेनमेन्ट सिस्टम लगाइएको छ । जसमा एन्ड्रोइड अटो र एप्पल कार–प्ले सिस्टम सपोर्ट गर्ने छ । पुरानो मोडलमा यी विशेषता उपलब्ध थिएन । इफोटेन्टमेन्ट सहितको ड्यासबोर्डले पुरानो मोडलको तुलनामा नयाँ मोडललाई निकै आकर्षक देखाएको छ ।
साथै, नयाँ वागेन–आर एएमटी गियर बक्समासमेत उपलब्ध रहेको छ ।
इन्जिन
यसमा दुई इन्जिन अप्सन उपलब्ध रहेको छ । जसमा १.० लिटर थ्री–सिलिन्डर परिमार्जित र १.२ लिटर फोर–सिलिन्डर इन्जिन दिइएको छ । ९९८ सीसी क्षमताको इन्जिनले ६७ बीएचपी पावर र ९० एनएम टर्क जेनेरेट गर्नेछ ।
त्यस्तै, १.२ लिटर इन्जिनले ८२ बीएचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्नेछ । पुरानो मोडलले भने १.० लिटरमा मात्रै उपलब्ध रहेको थियो ।
मूल्य
अल–न्यू वागेन–आर एलएक्स–आई, भीएक्स–आई र जेडएक्स–आई तीनवटा भेरियन्टमा उपलब्ध हुनेछ । एलएक्स–आईमा १.० लिटर इन्जिन लगाइएको छ । जेडएक्स–आईमा १.२ लिटर इन्जिन दिइएको छ । भीएक्स–आईमा १.० लिटर र १.२ लिटर इन्जिन अप्सन दिइएको छ । यसको सुरुवाति मूल्य ४ लाख १९ हजार देखि ५ लाख ६९ हजारसम्म तोकिएको छ । पुरानो र नयाँमा मूल्यमा भने खासै फरक छैन ।

