काठमाडौं । सन् २०२४ बाट नेपालमा बिक्री सुरू भएको ओमोडा ई-फाइभ एक सफल कुप्पे डिजाइन एसयूभी हो । ओमोडा/जेको ब्राण्डको लागि नेपालको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले अहिलेसम्म ९३४ युनिट ई-फाइभ नेपाल ल्याइसकेको देखिन्छ ।
एसपीजी अटोमोबाइलले सन् २०२४ मा ५८४ युनिट ल्याएको ई-फाइभ सन् २०२५ मा भने ३५० युनिट आयात गरेको देखिन्छ । समग्रमा दुई वर्षमा ९३४ युनिट ई-फाइभ नेपाल आइसकेको छ । कम्पनीले सन् २०२६ को मध्यसम्ममा फेसलिफ्ट मोडल बिक्री सुरू गर्ने योजना बनाएको छ ।
ओमोडा ई-फाइभ फिचर लोडेड एसयूभी हो । यसमा एडास २.०, सनरुफ, ३६० डिग्री क्यामेरा, पावर टेलगेट र पडल लाइट पाउन सकिन्छ ।
ओमोडा ई-५ मा ६१ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । डब्लूएलटीपीको रेन्ज कै हाराहारी नेपाली सडकमा पनि यसले रेन्ज दिन्छ ।
कुप्पे डिजाइनमा तयार भएको ई-५ मा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । पावरको मामलामा पनि यो उत्कृष्ट क्रसओभर मोडल हो ।

निकै मोर्डन क्याबिन रहेको ई-५ को ड्यासबोर्डमा दुई वटा स्क्रीन जोडेर दिइएको छ । दुवै स्क्रीनको साइज १२.३ इन्च छ । एडाससहितको सेफ्टी फिचर उपलब्ध डिलक्स भेरियन्टमा एम्बियन्ट लाइट, १८ इन्चको ह्वील र १८० एमएम ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।
ओमोडा ई-५ ले ११ किलोवाटसम्मको एसी चार्जर र ८० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ । यदि गाडीमा ३० प्रतिशत चार्ज छ र ८० प्रतिशत गर्नु पर्छ भने केबल २८ मिनेट चार्ज गर्दा पुग्छ ।
अब छिट्टै फेसलिफ्ट
दुई वर्ष नेपाली सडकमा बिताएको ओमोडा ई-फाइभको फेसलिफ्ट मोडल नेपाल ल्याउने तयारीमा एसपीजी अटोमोबाइल कम्पनी जुटेको छ । सम्भवतः सन् २०२६ अप्रिल महिनासम्ममा यसको नेपाली बजारमा बिक्री सुरू हुनेछ ।
ओमोडा ई-फाइभको फेसलिफ्टमा भएका परिवर्तनका विषयमा भने कम्पनीले कुनै जानकारी बाहिर ल्याएको छैन ।

