काठमाडौं । ओमोडा ई-फाइभ क्रसओभर कुप्पे डिजाइन एसयूभी नेपाल आएको एक वर्ष पूरा भएको छ । सुरूमा डेमो भेहिकल ल्याएर परीक्षण र टेस्ट ड्राइभ गराएको कम्पनीले मार्च महिनाबाट बिक्री थालेको थियो ।
नेपाल आएको छोटो समयमा नै ६३० युनिट ई-फाइभ नेपाल आयो । अहिले ई-५ चढ्ने उपभोक्ता पनि सन्तुष्ट भेटिन्छन् । बजारमा आएदेखि नै ओमोडा ई-फाइभको बिक्री निरन्तर एउटै गतिमा देखिनुलाई पनि धेरैले सन्तुष्ट ग्राहक मुख्य कारण मानेका छन् ।
‘हामीले ओमोडा ई-५ बाट अपेक्षा अनुसारको व्यवसाय भएको छैन भन्न मिल्दैन । तर, योभन्दा राम्रो गर्न सकिन्थ्यो । लक्ष्य अनुसार हामी अगाडि बढ्दै छौँ । यस बीचमा उपभोक्ताको राम्रो प्रतिक्रिया पाएका छौं’, आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलका प्रबन्ध निर्देशक गौरव सारडाले भने ।
ओमोडा चढ्दै आएका आधा दर्जन बढी उपभोक्तासँग हामीले प्रत्यक्ष कुरा गरेका थियौं । उनीहरूको भनाइको आधारमा पनि ई-५ को पर्फमेन्ससँग उपभोक्ता निकै सन्तुष्ट देखिएका छन् ।
‘मैले सुरूवातमै ई-फाइभ खरिद गरेको हुँ । मलाई यसको ह्याण्डलिङ, रेन्ज र पर्फमेन्स उत्कृष्ट लाग्छ । झण्डै १० महिनामा २२ हजार किलोमिटर चलाइसकेको छु । मेरो हरेक आवश्यकता यसले पूरा गरेको छ’, ई-फाइभका प्रयोगकर्ता रौतहट चन्द्रपुरका अब्देश भट्टराईले मेरोअटोसँग भने ।
उपत्यकामा ओमोडा चलाउँदै आएका किशोर श्रेष्ठ भन्छन्, ‘म कुप्पे डिजाइनको इलेक्ट्रीक एसयूभीको खोजिमा थिएँ । ई-५ बजेट अनुसारकै पाए । यसको ओभरअल पर्फमेन्सबाट सन्तुष्ट छु । एक वर्षको अवधिमा कुनै किसिमको समस्या आएको छैन ।’
बलियो ब्राण्ड बनाउन लागेका छौं : ज्ञानेन्द्र चन्द, जनरल मेनेजर एसपीजी अटोमोबाइल

एक वर्षको अवधिलाई कसरी हेर्नु भएको छ ?
एक वर्षको बीचमा हामीले राम्रै सफलता हात पारेका छौं । ओमोडा/जेको मिलाएर ८०० बढी गाडी सडकमा गुड्न थालेका छन् । प्रयोगकर्ता सन्तुष्ट छन् । नेटवर्क विस्तारमा जोड दिएका छौं । युवाहरूसँग जोडिन एनपीएल जस्तो मेगा टुर्नामेन्टमा हामी सहभागी भयौं ।
हाम्रा गतिविधि राम्रो भए पनि अझै उपभोक्ता नजिक पुग्न सकिरहेका छैनौँ । ओमोडा ई-५ प्रोडक्ट अनुसारको बिक्री कम हो । योभन्दा राम्रो गर्न सक्नु पथ्र्यो । हामीसँग नेटवर्क थिएन । त्यो बल्ल बनायौं । अब उपत्यकासहित १७ स्थानमा हाम्रो शोरुमहरू छन् ।
प्रयोगकर्ताको गुनासो कत्तिको आउन थालेका छन् ?
अहिलेसम्म गाडी चढ्नेको गुनासो छैन । दुर्घटना भएर आएको खण्डमा हाम्रो सर्भिस सेन्टरहरूले सहजै सेवा दिन सक्छन् । सबै नेटवर्कमा सर्भिस सेवा उपलब्ध छ । ५० देखि ७० लाखको सेग्मेन्टमा हामी अहिले दोस्रो स्थानमा छौं । संख्यात्मक उपभोक्ता धेरै भए पनि अहिलेसम्म समस्या भोग्नु परेको छैन ।
अब दोस्रो वर्षको यात्रा कस्तो हुन्छ ?
दोस्रो वर्षमा हामी थप दुई मोडल बजारमा ल्याउने योजनामा छौं । यहाँ नीतिले सपोर्ट गर्दैन । एउटा नीतिमा टेकेर गाडी मगायो, गाडी आइपुग्दा फरक नीति बन्छ । त्यसैले क्रमिक रूपमा ब्राण्ड निर्माणमा केन्द्रीत हुँदै सन्तुष्ट ग्राहकको संख्या थप्ने हाम्रो लक्ष्य हो ।
सर्भिसको समस्या धेरै सुनिन्छ, तपाईंहरू कसरी काम गर्दै आउनुभएको छ ?
हामीले ईभी बिक्री गर्न थालेको सन् २०२१ देखि नै हो । विगतमै चाहिने सर्भिसको जनशक्ति निर्माणमा हामीले काम गरेका थियौं । अहिले त्यही पुरानो सेटअपलाई बलियो बनाउँदै लगेका छौं । अहिले नयाँ प्रोडक्ट ल्याएसँग थप जनशक्ति तयार पारिरहेका छौँ ।
जहाँसम्म सर्भिस महँगो भन्ने कुरा छ पक्कै पनि सीमित उत्पादन भएको कारण पार्टस् महँगो परिरहेको छ । अहिले पनि विश्वभर प्योर ईभीको बिक्री १५ प्रतिशतभन्दा कम छ । त्यसैले पार्टस् महँगो भएको हो । अर्को कुरा केही पार्टस् टेक्नोलोजी ड्रिभन छन्, त्यसले पनि महँगो बनाएको हो ।
तपाईंहरूले १०० स्थानमा डीसी चार्जर राख्ने भन्नुभएको थियो । त्यो कहाँ पुग्यो ?
चार्जिङ स्टेशन निर्माणमा हामीले काम गरिरहेका छौं । पूर्व-पश्चिम हाइवेको हरेक १०० किलोमिटरको दूरीमा हाम्रो चार्जर पाउन सकिन्छ । अहिलेसम्म हामीले ३० स्थानमा चार्जर राखिसकेका छौँ । अहिले पनि निरन्तर चार्जर थप्ने काम भइरहेको छ ।

