अब धरहराको पार्किङ व्यवस्थापन काठमाडौं महानगरले गर्ने

सांकेतिक तस्बिर ।

काठमाडौं । काठमाडौंको सुन्धारास्थित धरहरा क्षेत्रमा पार्किङको व्यवस्थापन र संचालन अब काठमाडौं महानगरपालिकाले गर्ने भएको छ ।

शुक्रबार सुन्धारामा बसेको नेपाल सरकार र महानगरको संयुक्त बैठकले यस्तो सहमति गरेको हो ।

धरहरा क्षेत्रमा निनिर्मत संरचनाको रेखदेख र पार्किङ संचालनलाई प्रभावकारी बनाउन महानगर प्रहरी बल परिचालन गर्ने निर्णय भएको छ । हाल धरहरा सहरी विकास मन्त्रालयले संचालन र व्यवस्थापन गर्दै आएको छ ।

त्यस्तै, बैठकले धरहराको संचालनका लागि तत्काल र दीर्घकालीन योजना तयार पार्न सहरी विकास मन्त्रालय र महानगरका पदाधिकारी सम्मिलित एक संयुक्त समिति गठन गरेको छ। यस समितिले परियोजना संचालनको मोडालिटीबारे अध्ययन गरी सुझाव पेश गर्नेछ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहराको बाहिरी संरचनाको उपयुक्त व्यवस्थापन गर्ने जिम्मा महानगरलाई दिइएको जानकारी दिइन् । उनले समग्र धरहरा संचालन नै पूर्ण रूपमा महानगरलाई हस्तान्तरण गर्न सरकारसँग आग्रह गरिएको बताइन्।

सहरी विकास मन्त्री कुमार इङ्नामले सुन्धाराको बाह्य स्वरूप व्यवस्थापनको सम्पूर्ण आर्थिक दायित्व महानगरले बेहोर्ने गरी सहमति भएको जानकारी दिए। उनले पार्किङ र सुरक्षाको काम महानगरले तत्कालै सुरू गर्ने बताए ।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


Back_to_top