काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिना (साउन-माघ)सम्म झण्डै ६ हजार युनिट विद्युतीय सवारी (ईभी) भित्रिएका छन् ।
भन्सार विभागले शक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्तसम्म कुल ५ हजार ८९६ युनिट विद्युतीयक कार, जीप, भ्यान आयात भएको हो ।
चालु आवमा औसतमा मासिक ८४२ युनिट ईभी कार आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा भने ईभी आयात ५.७८ प्रतिशतले घटेको छ । गत वर्ष ७ महिनामा ६ हजार २५६ युनिट ईभी आयात भएको थियो ।
चालु आवमा कुल १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको विद्युतीय कार आयात भएको छ । यसबाट सरकारले ८ अर्ब ४६ करोड रुपैयाँ राजस्व पाएको छ ।
चालु आवको बजेट अघि कर बढ्ने हल्लाले व्यवसायीले झण्डै ६ हजार ईभी आयात गरेको थिए । ती कार अझै बिक्री भइनसकेकाले आयातमा प्रभाव परेको हो ।
चालु आवमा ५० किलोवाटसम्मका १९९२ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ३४०२, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ४९३ र २०१ किलोवाट माथिका ७ युनिट ईभी भित्रिएक छन् । त्यस्तै, ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार आयात भएको छ ।
कुन देशबाट कति ?
विद्युतीय कार आयातमा चिनियाँ बण्डको वर्चश्व रहँदै आएको छ । चालु आवमा कुल ईभी आयातमा चीनबाट मात्रै ७१ प्रतिशत कार ल्याइएको छ । ७ महिनामा चीनबाट ९ अर्ब ९० करोड रुपैयाँ बराबरको ४ हजार २०४ युनिट ईभी कार आयात भएको छ ।
दोस्रो धेरै भारतबाट १ हजार २६३ युनिट विद्युतीय कार आयात भएको छ । भारतबाट २ अर्ब ६५ करोड रुपैयाँ बराबरको ईभी कार आयात भएको हो ।
त्यसैगरी, थाइल्याण्डबाट ४०१ युनिट, अमेरिकाबाट १२ युनिट, जर्मनीबाट १० युनिट, दक्षिण कोरियाबाट २, वेलायत र अष्ट्रियाबाट १/१ युनिट ईभी आयात भएको छ ।

