काठमाडौं । रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल फ्लाइङ फ्लिया सी ६ सार्वजनिक गर्ने तयारी थालेको छ ।
रोयल इनफिल्ड इन्डियाले पहिलो पटक भारतमै निर्माण गरेको फ्लिया सी ६ चेन्नइको सडकमा बिना क्यामोफ्लाजमा परीक्षण गरिरहेको हो । यससँगै कम्पनीले फ्लिया सी ६ प्रोडक्सन मोडल तयार बनाएको पुष्टि भएको हो ।
मिडिया रिपोर्ट अनुसार यसअघि चेन्नइमा देखिएका टेस्ट म्युलहरू पूर्ण रूपमा क्यामोफ्लाज गरिएको अवस्थामा थिए भने लद्दाखमा चिसो मौसम परीक्षणसमेत गरिएको थियो।
फ्लाइङ फ्लिया सी ६ अप्रिल महिनामा सार्वजनिक हुन सक्ने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । क्लासिक मोटरसाइकल निर्माण गर्ने रोयल इनफिल्डले बजारमा ल्याउन लागेको इलेक्ट्रीक मोटरसाइकल फ्लाइङ फ्लिया सी ६ पनि क्लासिक स्टाइलमै देखिन्छ ।
फ्लाइङ फ्लिया सी ६ इलेक्ट्रीक मोटरसाइकल रोयल इनफिल्डको वल्र्ड वार दोस्रोमा प्रयोग गरेको पेट्रोल मोडल फ्लाइङ फ्लिया नामबाट प्रेरित छ। त्यस समयमा फ्लाइङ फ्लिया सिम्पल डिजाइन, उच्च प्रदर्शन र सजिलो ह्याण्डलिङको लागि प्रख्यात मोटरसाइकल थियो । नयाँ इलेक्ट्रीक भर्सनमा आउने फ्लाइङ फ्लिया सी ६ पनि सिम्पल र क्लिन डिजाइनमा छ ।
४० को दशकमा बजारमा आउने ग्रिडर फोर्क यसमा पाउन सकिन्छ । अब फ्लाइङ फ्लिया सी ६ ग्रिडर फर्क भएको पहिलो मोटरसाइकल बन्ने भएको छ । मोटरसाइकलको ट्याकंको भागमा ब्याट्री र इलेक्ट्रीक मोटर सेटअप रहेको छ ।
त्यस्तै, यसमा बेल्ट ड्राइभ, कस्टमाइज राइड मोडहरू, एड्भान्स कनेक्टिभिटी सिस्टम, ट्रयाक्सन कन्ट्रोल, डबल डिस्क ब्रेक, कर्नरिङ एबीएस, लिन एंगल सेन्सर, टीएफटी डिस्प्ले, लगायत धेरै फिचरहरू हुने छन् ।
रोयल इनफिल्डले फ्लिया सी ६ लाई पुरा नयाँ एल प्लेटफर्ममा तयार पारेको हो। यही प्लेटफर्ममा आधारित ‘एस ६’ स्क्र्याम्बलर पनि २०२६ भित्रै सार्वजनिक हुने अपेक्षा गरिएको छ। यद्यपि, कम्पनीले विस्तृत पावरट्रेन स्पेसिफिकेसन सार्वजनिक गरिसकेको छैन । तर आकर्षक परफर्मेन्स र प्रिमियम निर्माण गुणस्तर दिने दाबी गरेको छ।

