काठमाडौं । अहिले विश्व अटोमोबाइल बजार विद्युतीय सवारी (ईभी)मय बन्दै गएको छ । इन्टरनल कम्बस्चन इन्जिन भएका गाडीको ग्रोथ रोकिएको छ भने ईभीको बिक्री हरेक वर्ष बढ्दै गएको तथ्यांकले देखाएको छ ।
ईभीको माग बढ्दै गएसँगै विश्वभर रहेका चल्तीका ब्राण्डले अर्बांै डलर खर्च गरेर यसको विकासमा काम थालेका छन् । न्यू इनर्जी भेहिकल ब्राण्ड टेस्ला, बीवाइडी जस्ताले बिक्रीमा सयौं वर्ष पुराना ब्राण्डलाई टक्कर दिन थालेका छन् ।
ब्राण्ड भ्यालुका हिसाबले समेत यी कम्पनीले परम्परागत गाडी उत्पादन गर्ने ब्राण्डलाई पछाडि पारिसकेका छन् । प्रविधिको विकास र व्यस्त मानव जीवनसँगै खर्च न्यूनीकरणका हिसाबले पनि विद्युतीय सवारीतर्फ विश्वको ध्यान केन्द्रित भएको हो । यसले संख्यात्मक रूपमा ईभी चढ्न चाहने थप्दै लगेको छ ।
पछिल्लो केही वर्षयता गाडी उत्पादकले पेट्रोल र डिजेलबाट चल्नेगरी बनाएका साना गाडीलाई इलेक्ट्रीकमा पनि ल्याउने चलन चल्दै आएको छ । अहिले यस्तो समय आएको छ अब विश्वबाट पेट्रोल/डिजेलबाट चल्ने कारहरू विस्थापित हुने चरणमा पुगेका छन् ।
जलवायु परिवर्तन र विश्वको संकल्प
पेट्रोलियम पदार्थबाट चल्ने गाडीको प्रयोग घटाउनु पर्ने बाध्यतामा विश्व मानव समुदाय पुग्नुको मुख्य कारण जलवायु परिवर्तन हो । वार्षिक १०/१२ करोड कार बजारमा थपिने र सवारीसाधनको प्रदूषणमा हिस्सा बढ्दै जाँदा पृथ्वीको तापक्रम बढ्न जाँदा विश्वले पेट्रोलियम पदार्थको विकल्प खोज्नु पर्ने बताए ।
पेरिस सम्झौतापछि विश्वले बून्य कार्वन उत्सर्जनको मिति घोषण गर्यो । नेपाल जस्ता देशले समेत सन् २०४० सम्म देशलाई शून्य कार्वन उत्सर्जन मूलूक बनाउने घोषणा गरेको छ । युरोप र अमेरिकाले पनि त्यही हाराहारी मितिलाई लक्ष्य बनाएका छन् । त्यसपछि सबैभन्दा धेरै छलफल विद्युतीय सवारीसाधनमा सुरू भएको हो ।
विद्युतीय सवारीले वातावरण प्रदूषण न्यूनीकरण कम गर्ने, हरित ऊर्जाको उपभोग गर्ने र मानव स्वास्थ्यमा समेत हानी कम गर्ने भएको कारण युरोपेली मुलुकसँगै विभिन्न देशले ईभीको प्रयोगलाई बढवा दिए । त्यसकै परिणाम अहिले विश्वभर ईभीको चर्चा चलिरहेको छ ।
उदाहरणका लागि हेर्ने हो भने, हालै मात्र क्यालिफोर्नियाले सबै साना इन्टरनल कम्बसन इन्जिनबाट संचालित सवारीहरू प्रतिबन्ध लगाउने प्रयास सुरू गरेको छ ।
अस्वस्थ धूँवाबाट मुक्ति
पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनले पेट्रोल र डिजेल बल्दा निस्कने धूँवाले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको हुन्छ । ईभीमा ब्याट्री व्यवस्थापन बाहेक अन्य हानी गर्ने कुरा नै छैन ।
ईभीको प्रयोग बढ्दै जाँदा त्यसमा रहेको ब्याट्री व्यवस्थापनमा सबै मिलेर काम गर्न सकिने योजनासहित ठूला सवारी निर्माता लागि रहेका छन् । यसले वातावरण सुधार र मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ ।
चलाउन सहज
स्वास्थ्य र वातावरणीय पक्ष मात्र नभएर विद्युतीय गाडी चलाउन पनि सहज हुन्छन् । इन्जिन भएका गाडी संचालन झन्झटिलो हुने गर्छन् । ईभीमा मोटर प्रयोग गरिएको हुनाले पावर लगायतका विषयमा कुनै समस्या हुँदैन ।
विद्युतीय गाडीमा अत्यन्त कम स्वीच र एलिमेन्ट दिइएको हुन्छ । यसले चालकले रोचक ड्राइभिङ अनुभव लिन सक्नेछन् ।
न्यून संचालन खर्च
पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा इन्जिन, पेट्रोल, सर्भिसिङ जस्ता खर्च हिसाब गर्दा अहिले प्रतिकिलोमिटर २२ रुपैयाँ हाराहारी खर्च हुन्छ । तर, विद्युतीय गाडीमा क्लोज्ड लुप कुलिङ सिस्टम हुने भएकाले मर्मत र मेन्टेनेन्समा धेरै खर्च आउँदैन । यसले समयसँगै अनावश्यक खर्च कटौतीमा सहयोग पुग्छ ।
यतिमात्र नभई विद्युतीय सवारीमा आवाज नआउने, अनावश्यक ग्यास र भाइब्रेट नहुने भएका कारण स्मुथ ड्राइभिङ गर्न सकिन्छ । टेक्नोलोजीको कारण ईभी लगभग एउटा ग्याजेट जस्तै बन्न थालेका छन् ।
ठूला देशको चासो बढ्दै
ईभीमा ठूला देशले चासो बढाउँदा त्यसको प्रभाव विश्वभर पर्न गएको हो । विश्वका ठूला देश चीन, जापान, अमेरिका, जर्मनी, भारत लगायत देशले पनि विद्युतीय गाडी उपभोग गर्न दिएको सहुलियतले उपभोक्ता पेट्रोलियम पदार्थबाट चल्ने कार छाडेर ईभी तिर लागेका छन् ।
त्यसको उदाहरण नेपाल पनि लिन सकिन्छ । एउटा गाडीमा न्यूनतम २५० प्रतिशत कर लगाउने नेपाल सरकारले ईभीमा ३० प्रतिशत हाराहारी मात्रै कर लगाएर प्रयोगकर्तालाई उत्साहित बनाउँदै गएको छ ।
त्यसकै परिणाम नेपालमा पछिल्ला केही महिनाको आयात तथ्यांक हेर्दा ईभीको आयात निकै राम्रो हुँदै गएको छ ।


