काठमाडौं । देशभर अहिले १३ हजार यूनिट विद्युतीय कार (ईभी) सडकमा गुड्न थालेका छन् । नेपाली सडकमा गुड्ने १३ हजार कारले दैनिक २६ हजार लिटरभन्दा बढी पेट्रोलियम बचत गर्न थालेका छन् ।
बजारमा बिक्री हुँदै आएका विद्युतीय कारको साइजकै पेट्रोल कार हुने हो भने प्रतिलिटर १० देखि १२ किलोमिटर माइलेज दिन्थे । यसलाई आधार मानेर औसतमा ११ किलोमिटर माइलेजले हिसाब गर्दा १३ हजार कारले वार्षिक ९४ लाख ६४ हजार लिटर पेट्रोलियम पदार्थ बचाउने देखिन्छ ।

नेपालमा सबै कारहरू वार्षिक १५/२० हजार किलोमिटर गुड्दैनन् । कति कारहरू वार्षिक ४/५ हजार किलोमिटर मात्रै गुडेको सुनिन्छ । यस्तोमा हामीले औसतमा वार्षिक ८ हजार किलोमिटर यी १३ हजार कार गुड्दा बचत हुने पेट्रोलियम पदार्थको हिसाब निकालेका हौं ।
माथिभने जस्तै प्रतिलिटर ११ किलोमिटर माइलेजले हिसाब गर्दा औसतमा एउटा कारले वार्षिक ७२८ लिटर पेट्रोल खपत गर्छ । यसरी एक वर्षमा १ करोड लिटरभन्दा केही कम पेट्रोलियम पदार्थको प्रयोग घटाउन नेपाल सफल भएको छ ।
आफ्नै विद्युत व्यापार बढ्दै
नेपालले आफ्नै कच्चा पदार्थबाट क्लिन इनर्जी उत्पादन गरिरहेको छ । नेपाली बिजुली बढी भएर भारत लगायतका देशमा निर्यात प्रयास भइरहेका छन् । यस्तोमा महंगो पेट्रोलियम पदार्थ किनेर ल्याउनुभन्दा आफ्नै विद्युत् खपत बढाउन प्रयास भइरहेका छन् ।
नेपाल विद्युत प्राधिकरणले चार्जिङ नेटवर्क नै बनाएर विद्युत् बिक्री गर्दै आएको छ । साथै, निजी कम्पनीले पनि फास्ट चार्जर लगाइरहेका छन् । धेरै विद्युतीय गाडी चढ्ने मानिसले आफ्नै घरमा एसी चार्जर जडान गरेर गाडी चार्ज गर्दै आएका छन् ।


