काठमाडौं । कीर्तिपुर नगरपालिकाले कालोपत्रेमै प्लास्टिक मिसाएर सडक पिच गरेको छ । कीर्तिपुरको नयाँ बजार सडक बुधबार प्लास्टिक मिसाएर सडक पिच गरिएको हो । सो सडकमा गरिएको कालोपत्रेमा अलकत्रा र गिटी मात्रै नभएर चाउचाउ, बिस्कुट, चक्लेटलगायतका प्लास्टिकका खोलहरु समेत गालेर प्रयोग गरिएको हो ।
प्रदूषणको ठूलो कारण बन्दै आएको यस्ता प्लास्टिक संकलन गरि त्यसलाई पगालेर अलकत्रा र गिटीमा मिसाइएर पिच गरिएको कीर्तिपुर नगरपालिकाका सुचना अधिकारी परशुराम चौलागाइले बताए । उनका अनुसार प्लास्टिक मिसाउँदा पिच उप्किने सम्भावना कम हुनेगर्छ ।
सो सडक खण्ड पिच गर्नका लागि करिब ६ सय किलो प्लास्टिक प्रयोग गरिएको उनले जानकारी दिए । २ सय मिटर लम्बाई रहेको नयाँ बजार सडकको पिच फलदायी भएमा कीर्तिपुर नगरपालिकाले गर्ने अन्य पिचमा समेत प्लास्टिकको प्रयोग गरेर पिच गरिने योजना रहेको उनले बताए ।
‘हामीले पहिलो पटक यस्तो काम गरेका हौं । जहाँ हामीले फालिएका प्लास्टिक गालेर पिचमा प्रयोग गरेका छौँ, पिच चाडै नउप्कियोस भनेर गरिएको हो,’ चौलागाइले मेरोअटेसँग भने ।
कीर्तिपुर नगरपालिकाका इन्जिनियर कृष्णबोल महर्जनले प्लास्टिक मिसाउनु र नमिसाउनुले पिचको लगानीमा केही फरक नपर्ने बताए । उनले नयाँ बाटो पिचका लागि प्लास्टिकको झोल २० प्रतिशत मिसाइएको जानकारी दिए ।
प्लास्टीकको झोलले गिटी बालुवालाई समातिराख्ने र पानी पर्दा समेत यसलाई हत्तपत्त उप्किन नदिने उनले बताए ।
‘पिचमा प्लास्टिक प्रयोग गर्नु भनेको प्रदूषित प्लास्टिकको प्रयोगका लागि मात्र हो, यसमा पानी परे पनि छिर्दैन, छिटो उप्किदैन त्यति हो,’ महर्जनले भने । जसले फालिएका प्लास्टिकको सदुपयोग पनि हुने र बाटो पनि बलियो हुने उनको भनाई छ ।


