पोखराबाट साढे दुई घण्टामै मुग्लिन (भिडियोसहित)

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत-मुग्लिन-पोखरा सडक चार लेन विस्तारको क्रममा छ । विस्तारमा रहेको राजमार्गका केही स्थानमा निर्माण कार्य चल्दैछ । आधाभन्दा बढी क्षेत्र बनिसकेको छ ।

मुग्लिनदेखि पोखरासम्मको ९०.३ किलोमिटर सडक छिचोल्न ३ महिना अघिसम्म झण्डै ५ घण्टा लाग्थ्यो । अहिले साँढे २ घण्टामै मुग्लिनबाट पोखरा पुग्न सकिन्छ ।

वर्षायाम सुरु हुन लागेको छ । यसअघि वर्षायामा राजमार्गमा यात्रा गर्दा सास्ती भोग्नु परेपनि अहिलेको वर्षामा भने कमै सास्ती हुने सडकको अवस्थाले देखाउँछ ।

आँबुखैरेनी-पोखराखण्ड विस्तार गर्न अधिकांश सडक र पहरा भत्काइएको छ । त्यही राजमार्ग भएर दिनहुँ हजारौँ सवारीसाधन गुड्ने गर्छन् । त्यहाँ पहिरोको जोखिम बढि नै देखिन्छ ।

मुग्लिन-पोखराखण्डलाई दुई भागमा विभाजन गरी विस्तारको काम भइरहेको छ । मुग्लिन–पोखरा सडक योजना अन्तर्गत आँबुखैरेनी-जामुनेलाई पूर्वीखण्ड र जामुने-पोखरालाई पश्चिम खण्ड कायम गरी सडक विस्तारको काम भइरहेको हो ।

कहाँ बन्यो, कति ठाँउमा बन्दै ?

पोखरा लखन चोकदेखि चाउथेसम्म पुरानै दुई लेनको सडक छ । चाउथे बजारबाट दुई लेन सडक पिच छ भने दुई लेन विस्तरको क्रममा छ ।

चाउथेदेखि बिजयपुर, कालिकाचोक, बुढीबजार, सुन्दरीबजार, अघौँचोक, डाँडाकोनाक, तालचोक, आदर्शचोक, अन्नपूर्णचोक, सैनिक बस्ती, पावर हाउस, गगनगौँडा सुरू हुँदासम्म पुरानै दुई लेन सडक छ । यहाँ अहिलेसम्म काम सुरु भएको छैन ।

तर, गगनगौँडादेखि केहीस्थानसम्म चार लेन सडक नै कालोपत्रे भइसकेको छ भने केही स्थानमा निर्माण कार्य चलिरहेको छ ।

यस्तै, मजुवा नजिकका अधिकांश सडक चार लेन नै कालोपत्रे सम्पन्न भएको छ । तर, कोत्रे पुग्न १५० मिटर हारहारी बाँकी हुँदादेखि नर्सरी स्थानसम्म बाटो बिग्रिएको छ । फेरी त्यहीँ देखि तनहुँको माछेपानी–दुलेगौंडासम्म बाटो निर्माण कै क्रममा छ । बेलचौतरा, मेलडाँडा, खैरेनीटारसम्म दुई लेन सडक बनिसकेको छ । तर, २ लेन विस्तारको क्रममा छ ।

कुमलेखोलादेखि मालेनगर, सेराटारसम्म ग्ररावेलसँगै कालोपत्रेको काम अगाडि बढेको छ । सेराटारदेखि १ किलोमिटर २ लेन सडक तयार भएको छ । तर, तुतरतुरे, अठराबेसी, म्याग्दीखोला पुल र थर्पुसम्म बाटो बनी रहेको छ । तर, उक्त स्थानमा गाडी गुडाउन भने अफ्टयारो छैन ।

त्यसपछि दुई लेनको सडक धरधरेसम्म कालोपत्रे भएको छ । त्यहाँदेखि गुणाँदीसम्म चार लेन सडक तयार भएको छ । त्यहाँबाट बरचौरा र कनटारसम्म कालोपत्रे भएको छ । त्यसपछि दमौलीपारी २ लेन सडक पीज छ, दुईलेन कच्ची छ । तर दमौली पुलदेखि दमौलीबजार कट्दासम्म बाटो निर्माण सुरु भएको छैन ।

ताघरेदेखि घाँसी कुवासम्म बाटो राम्रो छ । त्यपछि घाँसीकुवादेखि २०० मिटर हाराहारी बाटो बन्दैछ । त्यहाँबाट देउरालीसम्म भने चार लेन नै कालोपत्रे भएको छ । त्यसपछि छिर्कनसम्मको ५०० मिटर हाराहारी सडक बिग्रिएको छ । बेलभञ्जयाङदेखि बन्दीपुर छिर्ने चोकसम्म पुग्दा ४ लेन नै तयार बाटो पाउन सकिन्छ । त्यसपछि चम्पहाराबाट अबुखैरेनी पुग्न १ किलोमिटर बाँकी हुँदा सम्म ४ लेननै तयार भएको छ । तर, कुनै कुनै स्थानमा निर्माण कार्य चलिरहेको छ ।

यो हेर्दा पूर्वीखण्डका अधिकांश भाग कालोपत्रे भइसकेपनि पश्चिमखण्डमा भने अपेक्षित प्रगति भएको देखिदैन ।


Back_to_top